जाँदाजाँदै मोदीका दूतले भने अस्थायी बसोबास पहिलो प्राथमिकता


Mishra at Press Meetभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख अतिरिक्त सचिव डा पिके मिश्राले वर्षायाम प्रारम्भ हुनुअगावै भूकम्पपीडितलाई अस्थायी बसोबासको व्यवस्था गर्नु पहिलो प्राथमिकता भएको बताउँदै त्यसनिम्ति नेपाल सरकारलाई भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भूकम्पपछिको नेपालको पुनःनिर्माणमा भारतीय सहयोगको खाका तयार गर्न तथा नेपाल सरकारका वरिष्ठ अधिकारीसँग छलफल गर्न मङ्गलबार राजधानी आउनुभएका उहाँले स्वदेश फर्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अस्थायी आवास निर्माणका सामग्री उपलब्ध गराउन भारत तयार रहेको बताउनुभयो । “नेपाल सरकारले विपत्तिपछिको आवश्यकता मूल्याङ्कन गरिरहेको र त्यो भारतलाई प्राप्त भएपछि त्यसैका आधारमा सक्दो सहयोग गर्न हामी दृढ छौँ”–अस्थायी आवास निर्माणमा वस्तुगत सहायता प्रदान गर्ने स्पष्ट गर्दै उहाँले भन्नुभयो । गुजरात भूकम्प व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतका रूपमा साढे तीन वर्षको अनुभव बटुल्नुभएका उहाँले प्रधानमन्त्री मोदीको विशेष निर्देशनमा आफू वैशाख १२ यता दोस्रोपटक नेपाल आएको बताउनुभयो । विपद् व्यवस्थापनको हाम्रो अनुभव नेपालमा उपयोग गर्न तथा हरसम्भव सहयोग उपलब्ध गराउन प्रधानमन्त्री मोदीले दिनुभएको निर्देशनले नेपालप्रतिको भारतको प्राथमिकता प्रतिविम्बित हुन्छ भन्दै उहाँले छिमेकी मुलुकका नाताले आर्थिक एवम् भौतिक सहयोगसँगै ज्ञान, सीप र अनुभव आदानप्रदानमा आप्mना प्रधानमन्त्रीले जोड दिएको बताउनुभयो । पुनःस्थापना, पुनःनिर्माण, जनजीवनलाई पुरानै अवस्थामा फर्काउने, आतङ्कित जनसाधारणलाई मनोवैज्ञानिक परामर्श दिने, घाइतेको समुचित उपचार एवम् उनीहरूको सामाजिक सुरक्षा विपद्पछिका प्रमुख काम भएका उहाँले उल्लेख गर्नुभयो । साथै उहाँले विपत्तिपछिका व्यवस्थापनका काम पूरा गर्न झन्डै चार वर्ष लाग्ने उल्लेख गर्नुभयो । एकदिने नेपाल बसाइका क्रममा आफूले भूकम्पबाट अतिप्रभावित दोलखा जिल्लाको भ्रमण गर्नुका साथै प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री डा रामशरण महत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा गोविन्दप्रसाद पोखरेललाई बेग्लाबेग्लै भेटेर पुनःनिर्माणका काममा भारतको साथ र सहयोग निरन्तर रहने जानकारी गराएको बताउनुभयो । एसियाली विकास बैंक, युरोपेली सङ्घ, राष्ट्रसङ्घीय विकास कार्यक्रमका साथै काठमाडौँस्थित नेपालका विकासका साझेदारसँग पनि आफूले भेटवार्ता गरेको जानकारी दिँदै सचिव मिश्राले भूकम्पबाट तहसनहस भएको नेपाललाई स्रोत र साधन जुटाउनु अहिलेको आवश्यकता भएकामा आफूले जोड दिएको उल्लेख गर्नुभयो । साथै उहाँले भूकम्पपीडितको उद्धार तथा राहतमा नेपाली सेनाले निर्वाह गरेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । “अबको निर्माण एवम् पुनःनिर्माण भूकम्प प्रतिरोधात्मक, गुणस्तरीय हुनैपर्छ, विकासका भौतिक पूर्वाधार हुन् वा निजी भवन, गुणस्तरमा सम्झौता गर्नु हुँदैन”–भूकम्पले चुनौतीसँगै अवसर पनि ल्याएको विचार व्यक्त गर्दै उहाँले भन्नुभयो । सचिव मिश्रालाई नेपालका लागि भारतीय राजदूत रणजित राय तथा यहाँस्थित भारतीय दूतावासका उच्च अधिकारीले बिदाइ गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?