यत पनि भूकम्पको तरंग, सोलोमोन द्वीपमा ६.९ रिक्टर स्केलको भूकम्प
बिहीबार सोलोमोन द्वीपमा ६.९ रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । तर यस भूकम्पपछि सुनामीको चेतावनी नदिइएको र यसबाट कुनै ठूलो क्षति पनि नभएको अनुमान गरिएको छ । सो भूकम्प सोलोमोन द्वीपको लतादेखि १८४ किलोमिटर टाढा र राजधानी होनिआरादेखि ४८७ किलोमिटर टाढा १९ किलोमिटर गहिराइमा रहेको पनि सो संस्थाले जनाएको छ । बिहीबार गएको ६.९ रिक्टर स्केलको शक्तिशाली भूकम्पपछि ४.९ रिक्टर स्केलको पराकम्पन आएको पनि समाचारमा जनााइएको छ । हालसम्म प्राप्त तथ्याङ्कअनुसार सो शक्तिशाली भूकम्पपछि पनि सुनामी चेतावनी भने नदिएको प्रशान्तमहासागरीय सुनामी चेतावनी केन्द्रले जनाएको छ । सोलोमोन द्वीप अग्निचक्रभित्र पर्ने देश भएको हुनाले यहाँ भूकम्प र ज्वालामुखी विस्फोटजस्ता घटना भइरहने गर्दछ । सोलोमोन विश्वको तुलानामा नै एक भूकम्पीय जोखिममा रहेको क्षेत्र भएको हुनाले यहाँ तीन वर्षयता ६.० रिक्टर स्केलभन्दा बढीको ३० भन्दा बढी भूकम्प आइसकेको अस्ट्रेलियाली भूकम्पविज्ञ मार्को मालडोनीले एएफपी समाचार समितिलाई बताउनुभएको छ । यसै महिनाको सुरुमा पनि छिमेकमा पर्ने पपुवा न्यू गिनीमा ७.१ रिक्टर स्केलको भूकम्प गएको र सुनामी चेतावनी दिइएको थियो । तर यस भूकम्पबाट ठूलो क्षति भने नभएको जनाइएको थियो । सोलोमोन द्विपमा सन् २०१३ मा ८.० रिक्टर स्केलको भूकम्प गएको र यसबाट कम्तीमा १० व्यक्तिको मृत्यु भएको थियो । सो भूकम्पबाट हजाराँै व्यक्ति घरवारविहीन भएका थिए ।