सिरियाली ऐतिहासिक सहर आइएसको कब्जामा
सिरियाको एक ऐतिहासिक सहर पालमिरा इस्लामिक स्टेट नामको आतङ्ककारी समूहले कब्जामा लिएको समाचार छ । प्राप्त पछिल्लो समाचारअनुसार सो सहरलाई कब्जामा लिन उनीहरूले निकै लामो समयदेखि प्रयास जारी राखेका थिए । उनीहरूले सो सहरको अधिकांश भूभाग कब्जामा लिएको प्रचार हिजो नै गरेका थिए । सो सहर पुरातात्विक महत्वको सहर हो र यसलाई बचाइराख्न सिरियाली सरकारले पनि निकै नै प्रयास गरेको थियो । सिरियाली गृहमन्त्रीले उक्त नगरको ऐतिहासिकताका कारण पनि त्यसलाई जिहादीहरूको कब्जामा पर्न नदिन सरकारले प्रयत्न गरिरहेको जानकारी दिनुभएको थियो । उक्त सहर पुरातात्विक महत्वको र विश्व सम्पदा सूचीमा रहेको सहर भएकाले यसलाई आतङ्ककारीले कब्जा गर्ने कामबाट बचाउन निकै नै प्रयास गरिएको उहाँको भनाइ थियो । तर बिहीबार आइएसले उक्त सहरको आधाभन्दा बढी भूभाग नियन्त्रणमा लिइसकेको बताइएको छ । सिरियामा मानवअधिकारको अवस्थाका बारेमा काम गरिरहेको संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइटसले सो जानकारी दिएको छ । इराकको रमादी सहर कब्जामा लिएपछि यसलाई पनि आतङ्ककारीहरूले कब्जामा लिने रणनीति अपनाएका थिए । तर पनि हालैमात्र रमादीको नियन्त्रण गुमेपछि यसलाई आइएसले आफ्नो ठूलो सफलताका रुपमा लिएको पाइएको समाचारमा जनाइएको छ । उक्त अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमाने एएफपी समाचार समितिलाई दिएको जानकारीअनुसार सो सहरको अधिकांश भाग आइएसले कब्जामा लिएका छन् । उहाँले आइएसले उक्त सहरका अधिकांश पुरातात्विक महत्वका वस्तुहरूलाई कब्जामा लिइरहेको आफूले जानकारी पाएको पनि बताउनुभयो । उक्त नगर सिरियाको महत्वपूर्ण र रणनीतिक हिसाबले बढी महत्वको नगर होम्स तथा इराकको सीमा क्षेत्रमा समेत प्रवेश गर्नका लागि महत्वपूर्ण रहेको समाचारमा जनाइएको छ । पूर्वी इराकका लागि बढी रणनीतिक महत्वको मानिने सो सहरमा आइएसको प्रवेश नहोस् भनेर निकै प्रयास गरेको बताइन्छ । त्यसैले आइएसका लडाकूहरूले यस नगरमा नै आफूहरूले ठूलो युद्ध जितेको जस्तोगरी प्रचार गरिरहेका छन् । सो संस्थाले उक्त नगरबाट सिरियाली सैनिक पछि हटिसेकेको जनाएको छ । उक्त नगरमा रहेको सिरियाको सरकारी सैनिक आफ्नो ड्युटीबाट पछि हटिसकेको छ र उक्त नगरमा रहेको एक सानो विमानस्थल पनि उनीहरूले नै कब्जामा लिएका छन् । त्यहाँ रहेको सैनिक संरचना तथा सैनिक हेलिप्याड पनि जिहादीहरूको कब्जामा नै पुगिसकेको अधिकारीहरूले जनाएका छन् ।