प्रधानमन्त्रीसँग चिनियाँ सहायक विदेश मन्त्रीको भेट ,पुनः स्थापना र पुनर्निर्माणमा थप सहयोगको अपेक्षा
प्रधानमन्त्री सुशील कोइरालासँग नेपाल भ्रमणमा रहनु भएका चीनका सहायक विदेश मन्त्री लियू जियानचाओले भेटवार्ता गर्नुभयो। त्यस अवसरमा नेपालमा वैशाख १२ गतेको भूकम्प र त्यसपछिका कम्पनबाट भएको धनजनको क्षति, खोजी, उद्धार,राहत अब गरिने पुनःस्थापना र पुनःनिर्माणसहित नेपाल र चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । भूकम्पबाट अपूरणीय क्षति भएको, त्यसबाट व्यक्तिगत एवम् सार्वजनिक भवन, पूर्वाधार, ऐतिहासिक, धार्मिक ,सांस्कृतिक र पूरातात्विक महत्वका सम्पदामा ठूलो ठूलो क्षति भएको जानकारी गराउँदै प्रधानमन्त्री कोइरालाले नेपाललाई परेको महाविपत्तिका बेला आवश्यक सहयोग गरेर चीनले ठूलो गुन लगाएको पनि बताउनुभयो । चिनियाँ विशेषज्ञ टोलीले आधुनिक उपकरणसहित खोजी र उद्धारमा सामेल भएर नेपालको पीडामा मलहम लगाएको बताउँदै उहाँले चीन र भारतजस्ता निकट छिमेकी र अन्य मित्रराष्ट्रबाट प्राप्त सहयोगले विपद्को सामना गर्न नेपाललाई सहज भएको उल्लेख गर्नुभयो । विपद्को समयमा भएको सहयोगले दुवै मुलुकका जनताको मन मुटु एक साथ रहेको प्रमाणित भएको पनि बताउँदै प्रधानमन्त्रीले भूकम्पमा परी चिनियाँ नागरिकको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै चीनका प्रधानमन्त्री, राष्ट्रपति र उहाँह मार्फत मृतकका शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयो । प्रधानमन्त्री कोइरालाले भूकम्पले पु¥याएको विनासमा खोजी र उद्धार पूरा हुन लागेको तथा राहत र पुनःस्थापनाका काम जारी रहेका जानकारी दिँदै बर्खायाम अगावै प्रभावित क्षेत्रका पीडितलाई सुरक्षित स्थानमा अस्थायी बसोबासको व्यवस्था गर्नु चुनौतिपूर्ण भए पनि त्यस निम्ति सरकार लागिपरेको बताउनुभयो । उहाँले भूकम्पका कारण बस्न नहुने गरी चर्किएका र ढल्किएका भवनलाई सुरक्षित तवरले भत्काएर व्यवस्थित गर्न पनि चिनियाँ सहयोग आवश्यक भएको आशय प्रकट गर्दै पुनःस्थापना र पुनर्निर्माणमा मित्रराष्ट्रबाट थप सहयोगको अपेक्षा आफूले गरेको बताउनुभयो । भूकम्पपछिको पुनः निर्माण र पुनः स्थापनाका लागि सरकारले रु दुई खर्र्बको कोष स्थापना गर्न लागेको र त्यसमा नेपाल सरकारले रु २० अर्ब योगदान गरिसकेको तथा बाँकी रकम स्वदेशी र विदेशी दाताबाट प्राप्त हुने अपेक्षा गरिएको जानकारी उहाँले दिनुभयो । प्रधानमन्त्री कोइरालाले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वर्ष पुगेको सन्दर्भ जोड्दै हालै इण्डोनेशियाको जकार्ता र बाङडुङमा भएको एसियाली–अफ्रिकी सम्मेलनमा चीनका राष्ट्रपति सी जिङपिङसँग भएको भेटवार्ताको प्रसङ्ग पनि उल्लेख गर्नुभयो । प्रधानमन्त्री कोइरालाले भूकम्पको विपत्तिले एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलले सङ्कट सामना गर्न परेको कठिनाइलाई दृष्टिगत गर्दै चीनको सहयोगमा पोखरामा बन्ने क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण शीघ्र गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । प्रधानमन्त्रीले नेपालका मित्रराष्ट्रहरुको सहयोग र भरोसाले नेपाल र नेपालीको भविष्य उज्ज्वल र उनीहरूको जीवन सुखमय बनाउने सङ्कल्प पूरा गर्न आफूलाई थप प्रोत्साहन मिलेको बताउनुभयो ।
निरन्तर सहयोगको प्रतिबद्धता
चीनले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दैै चिनियाँ सहायक विदेशमन्त्रीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका अवसरमा चीन –नेपाल –भारतका बीचमा आर्थिक करिडर बनाउने विषयमा छलफल भएको जानकारी दिनुभयो । निकट भविष्यमा नेपालले आयोजना गर्ने दातृृ राष्ट्र तथा निकायहरुको सम्मेलनमा चीनले उच्चस्तरीय प्रतिनिधि पठाउने बताउनुभयो । उहाँले भन्नुभयो,“चीन नेपालको सुख र दुःखमा सदा साथै रहने छ ।” उहाँले प्राकृतिक विपद्का घडीमा चीनलाई सघाउने अवसर दिएकोमा कृतज्ञता व्यक्त गर्दै नेपालले आफैले गरेको खोजी र उद्धारको प्रशंसा गर्नुभयो । भेटमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराई र नेपालका लागि चीनका राजदूत वु चुन्ताई पनि उपस्थित हुनुहुन्थ्यो ।