भ्रष्टाचारको सफाईपछि तमिल नेत्री जयललिता मुख्यमन्त्री पदमा फिर्ता
भारतको एक अदालतले यस मुलुकका सबैभन्दा शक्तिशाली राजनीतिज्ञमध्ये एक तमिल नेत्री जयललिता जयरामलाई भ्रष्टाचारको मुद्दाबाट मुक्ति दिएपछि तमिल नाडु राज्यको मुख्यमन्त्री पदमा फर्कनुभएको छ । पूर्व चलचित्र नायिका जयललिता जयरामले तमिल नाडु राज्यमा मुख्यमन्त्री पदमा रहेको समयमा गैरकानुनी रूपमा सम्पत्ति जम्मा गरेको भनी गत सेप्टेम्बरमा उहाँलाई दोषी ठहर गरिएपछि उहाँ पदबाट हट्न बाध्य हुनुभएको थियो । दुई वर्षसम्म चलेको यस मुद्दामा ६७ वर्षीया नेत्री जयरामलाई चार वर्षसम्मको कारावास तथा एक अर्ब रूपैँया जरिवानाको सजाय तोकिएको थियो । यसै महिनाको आरम्भमा उच्च अदालतले उहाँलाई भ्रष्टाचारको उक्त आरोपबाट मुक्त गरेको छ । मद्रास विश्वविद्यालयमा ठूलो भेलाबीच हरियो सारीमा रहनुभएकी जयरामले सपथ ग्रहण गर्नुभयो र उक्त समयमा उहाँका २८ मन्त्री उहाँपछाडि उभिएका थिए । तमिल नाडुमा नेत्री जयरामले निकै लोकप्रियता कमाउनुभएको छ भने उहाँका समर्थकले उहाँलाई ‘अम्मा’को नामबाट बोलाउने गर्छन् । उहाँका अगाडि उहाँ मन्त्रीहरू निःसहाय जस्ता देखिन्छन् । उहाँ सपथ ग्रहण गर्न राज्यको केन्द्रमा रहेको स्थलतर्फ जाँदा सयौँ समर्थकहरू पार्टीको झण्डा बोकेर सडक किनारामा उभिएका थिए भने उहाँको गाडी अगाडि बढ्दा भिड नियन्त्रण गर्न प्रहरीलाई निकै कठिनाइ भएको थियो । उहाँका तस्वीर लिएका समर्थकहरूले खुसीमा नाच्दै गाउँदै मिठाइ बाँडेका थिए । जयललिताले तमिल नाडुमा ‘‘अम्मा क्यान्टिन’’ जस्ता निकै लोकप्रिय कार्यक्रम सञ्चालन गर्नुभएको छ भने यसले उहाँलाई निकै मतदाताको समर्थन प्राप्त छ । यस कार्यक्रममा तीन रूपैँयामा दिउँसोको खाना पाइन्छ । गत वर्षको आम निर्वाचनमा उहाँले विद्युतीय ब्लेन्डर, बोका तथा सुन जस्ता उपहार बाँडी ठूलो समर्थन कमाउनुभएको थियो । जयललिता जयारामको एआईएडीएमके पार्टी भारतको राष्ट्रिय संसदमा तेस्रो ठूलो दलको रूपमा रहेको छ र उहाँ प्रधानमन्त्री नरेन्द्र मोदीका नजिक मानिनुहुन्छ । सपथग्रहणको समयमा भारतीय जनता पार्टीका निकै नेताहरू पनि उपस्थिति थिए । उहाँका प्रतिद्वन्द्वी राजनीतिज्ञहरूले यस राज्यमा सन् १९९६ मा उहाँविरुद्ध भ्रष्टाचारको आरोप लगाएका हुन् । त्यस समयमा प्रहरीले उहाँको घरमा छापा मारी २८ किलोग्राम सुन, ७५० जोर जुत्ता तथा १० हजार सारी नियन्त्रणमा लिएको थियो । सरकारी वकिलहरूले उहाँका दुई वटा एक हजार एकडका जमिन नै उहाँको आयभन्दा निकै धेरै भएको आरोप लगाएका छन् । उहाँ सन् १९९१ देखि १९९६ सम्म उहाँ पहिलोपटक मुख्यमन्त्री हुनुभएको थियो ।