पाँच दिनभित्र राहत सामग्री उपलब्ध गराउन संसदीय समितिको निर्देशन
राष्ट्रिय विपत्् व्यवस्थापन,अनुगमन तथा निर्देशन विशेष समितिले भूकम्प प्रभावित जिल्लाका विभिन्न स्थानमा आजसम्म पनि राहत सामग्री उपलब्ध नभएको भन्दै दिनभित्र खाद्यान्न, त्रिपाल, औषधिलगायत राहत सामग्री पु¥याउन सरकारलाई निर्देशन दिएको छ । समितिको बैठकले धादिङ, गोरखा, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायत जिल्लाका दुर्गम क्षेत्रमा राहत सामग्री नपुगेको र स्थानीयबासिन्दा अझै पनि कष्टकर जीवन जीउन बाध्य भएकाले तत्काल आवश्यक व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका सुगम स्थानमा पटकपटक राहत तथा उद्धार सामग्री पु¥याइएको भए पनि दुर्गम क्षेत्रमा सरकारी तथा गैरसरकारी निकायले मानवीय सहयोग उपलब्ध नगराएका भन्दै समितिले सत्य सूचना उपलब्ध गराउन र आवश्यक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको हो । भूकम्प प्रभावित क्षेत्रमा भएका उद्धार तथा राहतका कामको अनुगमन गर्न गएका सांसद्ले बैठकमा पीडितले राहत सामग्री नपाएका, केन्द्र र जिल्ला तहमा समन्वय नभएको र आफूखुसी राहत सामग्री वितरण भएको गुनासो गर्नुभएको थियो । दुर्गम तथा सडक सञ्जालमा नसमेटिएका गाविसमा राहत सामग्री उपलब्ध नभएको भन्दै सांसदहरुले सरकारको काम गर्ने शैली र क्रियाशिलतामा खोट देखिएको, अन्तर मन्त्रालय समन्वय नभएको तथा आवश्यक परामर्शसमेत नलिनएकामा सरकारको आलोचना गर्नुभयो । जनता कष्टकर जीवन जीउन बाध्य छन्, सरकार राहत वितरण गरिरहेको बताउँछ, पीडितले राहत पाएका छैनन्, स्थलगत अनुगमनका क्रममा समेत स्थानीयवासीको ठूलो आक्रोश छ त्यसलाई सम्बोधन गर्ने उपाय के छ ? सांसदहरुले प्रश्न गर्नुभयो । नेपाली काँग्रेसका सांसद रामचन्द्र पौडेलले जनताले राहत नपाएका, भूकम्प प्रभावित १४ जिल्ला बाहेक अन्य जिल्लामा पनि भौतिक क्षति भएकाले सही सूचना सङ्कलन गर्न आग्रह गर्नुभयो । उहाँले भूकम्प प्रभावित जिल्लामा भूगर्भशास्त्री तथा विज्ञहरुलाई लगेर आवश्यक जानकारी लिन र बस्ती बसाउन योग्य भएनभएको यकिन गर्न आग्रह गर्नुभयो । नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले तत्काल उच्चस्तरीय विपद् व्यवस्थापन प्राधिकरण गठन गर्न, विपद् व्यवस्थापनसम्बन्धी ऐन, नियम र कानुनको समयानुकूल परिवर्तन आवश्यक बताउनुभयो । एकीकृत नेकपा(माओवादी)का सांसद कृष्णबहादुर महराले गाँउमा सबै राजनीतिक दलका नेता तथा कार्यकर्ता एकीकृत भएर राहत र उद्धारमा जुटे पनि जिल्ला सदरमुकाममा समन्वय नभएको र केन्द्रमा अन्तर मन्त्रालय परामर्श र समन्वय नभएको भन्दै आपत्ति प्रकट गर्नुभयो । “जनता राहतको प्रतीक्षामा छन् तर सरकारले घोषणा गरेको तत्कालीन राहतसमेत उनीहरूले पाएका छैनन् ,सरकारी संयन्त्रमा देखिएको यो कमजोरी तत्काल सुधार गर्नुपर्छ,”उहाँले भन्नुभयो । सांसदहरु भरत शाह, श्रीप्रसाद जगेवु, भानुभक्त ढकालले राहत वितरणमा सरकारले एकद्वार कायम गरेको भए पनि त्यसको प्रभावकारीता जिल्लामा नदेखिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । यस्तै सांसदहरु दलजीत विके श्रीपाली, यशोदा लामा, जीवनबहादुर शाही, गोपालमान श्रेष्ठले वर्षा अगावै अस्थायी आवासका लागि जस्ता पाता वितरण गर्न माग गर्नुभयो ।