दियोमुनीको अँध्यारो, प्रहरी कार्यालय अगाडि कालोबजारी गर्ने बल्ल पक्राउ
महानगरीय प्रहरी कार्यालय रानीपोखरी अगाडि रहेको रणद्वीप आकाशे पुलमुनि पसल सञ्चालन गर्नेले नै सर्वसाधारणबाट तोकिएको मूल्यभन्दा बढी शुल्क लिई कालोबजारी गर्ने गरेको भेटिएको छ । दुई रुपैया पर्ने फोटोकपी शुल्कलाई रु २० लिएको र नेपाल सरकारद्वारा निर्धारित हुलाक टिकट रु १० लाई रु २० लिई सर्वसाधारणलाई ठगी गरी कालोबजारी गरेको अवस्थामा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । सो पुलमुनि पसल गर्ने अभिशेख क्षेत्री, कृष्णकुमार तामाङ, घनराज श्रेष्ठ, सुदीप नेपाली, मीनप्रसाद चौलागाईं र राज तिमिल्सिना छन् । निजहरुलार्ई कालोबजारी ऐनअन्तर्गत म्यादथप गरी अनुसन्धान अगाडि बढाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।