न्यू साउथ वेल्सका सांसदहरुबीच नेपाल सहयोग जमघट, १७ हजारभन्दा बढी सहयोग संकलित
अष्ट्रेलियाको न्यू साउथवेल्स राज्यका सांसदहरुलाई नेपालको वर्तमान अवस्थाका बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको भेटघाट कार्यक्रम सम्पन्न भएको छ । बुधबार साँझ न्यू साउथवेल्स संसद भवनमा रहेको स्ट्रेन्जर्स फंक्सन रुममा आयोजना गरिएको कार्यक्रमबाट १७ हजारभन्दा बढी अष्ट्रेलियन डलर संकलन गरिएको छ भने थप प्रतिबद्धता पनि आएको छ । कार्यक्रममा नेपाली समूदायका अग्रजहरु र न्यू साउथवेल्सका संसद सदस्यहरुको उपस्थिति थियो । कार्यक्रमको आयोजना न्यू साउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्का र सांसद मार्क कुर्रेले संयुक्त रुपमा गर्नुभएको हो । कार्यक्रमको सञ्चालन नेपालमा ५० पटकभन्दा बढी भ्रमण गरिसकेका क्रिस वाकरले गरेका थिए । सुरुवातमा नेपाली समूदायका अगुवा शमशेर थापाले नेपाल कठीन मोडमा सबैको साथ र सहयोग खोजीरहेको बताउनुभएको थियो । यस्तै संक्षिप्त मन्तव्य दिँदै आयोजकमध्येका एक सांसद मार्क कुर्रेले यो कठीन घडीमा सदैव सहयोग गर्न तत्पर रहेको बताउनुभयो । यस्तै महावाणिज्यदूत खड्काले यस कार्यक्रमबाट संकलित रकमलाई दूतावासमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने जानकारी दिनुभयो । कार्यक्रममा एनआरएन सचिव रञ्जु थापाले राहत वितरणको अनुभव सुनाउनुभएको थियो । एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले जुनसुकै माध्यमबाट नेपालमा रकम गएपनि त्यसले पीडितलाई मल्हम नै लगाउने भएकोले एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । एनआरएन संरक्षक ईन्द्रा वनले सबैलाई धन्यवाद दिनुभएको थियो । नेपालीबाहेकका अन्य समूदायबाट समेत प्राप्त सहयोग र सद्भाव अमूल्य रहेको उहाँको भनाई थियो । कार्यक्रममा सांसदहरुMark Coure, Jonathan O’dean, Courtney Houssos, Melanie Gibsons, Jodie Harison, Sophie Costsis, Jodi Mckay, Scott Farlow सहभागी हुनुहुन्थ्यो । पछिल्लो अष्ट्रेलिया सरकारले नेपालमा गरेको सहयोगलाई निरन्तरता दिने निर्णय गरिसकेको छ । कार्यक्रममा सहभागीमध्येका एक डिला खरेलले १७ हजारभन्दा बढी रकम सहभागी र अक्सनबाट उठाइएको, बाँकी प्रतिबद्धताहरु पनि संकलन हुने क्रममा रहेको जानकारी एमएनटीभीलाई दिनुभयो । राज्य सरकारहरु र संसदलाई पनि नेपालको वित्तिको विषयमा जानकारी गराउन यस किसिमका कार्यक्रम निकै सहयोगी सावित हुने अनुमान गरिएको छ । उपस्थित सांसद र समूदायका प्रतिनिधिकाबीच एमएनटीभीले तयार पारेको नेपालको भूकम्पसम्बन्धी भिडियो रिपोर्ट प्रस्तुत गरिएको थियो ।