सिसाको मात्रा बढी भएको आरोपमा भारतका बजारबाट म्यागी चाउचाउ हटाउन आदेश
म्यागी चाउचाउमा असुरक्षित मात्रामा सिसाको मात्रा देखिएपछि नेस्लेको तयारी चाउचाउ म्यागीलाई भारतका पसलेहरूले बिक्रीबाट हटाएका छन् । भारतका राज्यहरूले कि त म्यागीलाई पसलबाट हटाउन आदेश दिएका छन् भने कि त सङ्घीय सरकारसँग मिलेर यसमाथि कारवाही गर्नुपूर्व अनुसन्धान गर्न आदेश दिएका छन् । प्रयोगशाला परीक्षणमा म्यागी चाउचाउमा कानुनी रूपमा तोकिएको भन्दा बढी सिसाको मात्रा फेला परेपछि यस उत्पादनको बिक्री घटेको छ । यी परीक्षणमा म्यागी चाउचाउमा राखिएको भनी उल्लेख नगरिएको तथा स्वाद मिठो बनाउने रासायनिक पदार्थ मोनोसोडियम ग्लुटामेट (एमएसजी) राखिएको फेला परेको छ । मङ्गलबार दिल्लीको नगर प्रशासनले म्यागीका १३ वटा नमुनामा परीक्षण गरेको थियो भने तीमध्ये १० मा सिसाको मात्रा तोकिएको भन्दा बढी भई खान असुरक्षित हुने देखिएको थियो । यसअघि उत्तर प्रदेशको खाद्य सुरक्षा अधिकारीहरूले गरेको परीक्षणमा पनि सिसाको मात्रा तोकिएको भन्दा निकै बढी भएको फेला परेको थियो । दिल्ली सरकारले स्विजरल्यान्डमा केन्द्रीय कार्यालय रहेको नेस्ले एसएको सहायक संस्था नेस्ले इन्डियामाथि कानुनी कारवाही गर्ने जानकारी दिएको छ । त्यहाँका अधिकारीहरूले बुधबार यस कम्पनीका अधिकारीसँग भेट गरेका छन् । दिल्ली सरकारले आफ्नो क्षेत्रका पसलमा म्यागी चाउचाउ बिक्री गर्न प्रतिबन्ध लगाएको छ । यस नगरका प्रमुख पसलले पनि यो चाउचाउ बिक्री नगर्ने बताएका छन् । म्यागीले ‘दुई मिनेट’ को विज्ञापन अभियान सञ्चालन गरेको छ र यो सजिलो तयारी चाउचाउ भएकाले स्कुल तथा कलेजका विद्यार्थीका लागि यो मनपर्ने खाद्यपदार्थ बनेको छ । चाउचाउ नेस्लेको सबैभन्दा छिटो बिक्री हुने खाद्य सामग्री बनेको छ । यसले प्रति वर्ष १५ अर्ब रूपैयाँको चाउचाउ बिक्री गर्ने गरेको छ । भारतको सङ्घीय खाद्यमन्त्री रामविलास पासवानले यो कानुन तोड्ने व्यक्तिलाई आजीवन कारावासको सजायसम्म हुने व्यवस्था गरिएको बताउनुभयो । यसै साताको आरम्भमा नेस्ले इन्डियाले एक विज्ञप्ति प्रकाशन गरी आफ्नो चाउचाउ खानका लागि सुरक्षित भएको दाबी गरेको थियो । अत्यधिक मात्रामा सिसा सेवन भए त्यसले मिर्गौला, हड्डी तथा स्नायु प्रणालीमा क्षति पु¥याउनसक्छ । यो विशेष गरी बालबालिकाका लागि नकारात्मक हुने देखिएको छ । एमएसजीको अत्यधिक सेवनले स्नायु प्रणालीमा क्षति पु¥याउनसक्ने बताइएको छ । केरला सरकारले म्यागी चाउचाउ बिक्रीमा प्रतिबन्ध लगाएको छ । हरियाणा, पश्चिम बङ्गाल तथा महाराष्ट्र सरकारले पनि म्यागी चाउचाउको नमुनामा परीक्षण गर्न थालेका छन् । भारतको खाद्य नियमक संस्थाले २९ राज्यलाई म्यागी चाउचाउको नमुनामा परीक्षण गर्न भनेको छ ।