एमाले र एमाओवादीकाबीच बहुपहिचानका आधारमा छ वा आठ प्रदेश बनाउने भन्ने विषयमा छलफल
नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)बीच राज्य पुनःसंरचनाको विषयलाई टुङ्गो लगाएर संविधान निर्माण प्रक्रियालाई गति दिने विषयमा समझदारी भएको छ । सिंहदरबारमा भएको दुई दलको बैठकमा संविधान लेखनको सबैभन्दा जटिल मानिएको राज्य पुनःसंरचनालाई टुङ्गो लगाउने र संविधान निर्माण प्रक्रियालाई चाँडो निष्कर्षमा पु¥याउने विषयमा मतैक्यता भएको हो । दुई दलको बीचमा बहुपहिचानका आधारमा छ वा आठ प्रदेश बनाउने भन्ने विषयमा छलफल भएको र नेपाली काँग्रेससँगको छलफलपछि टुङ्गो लगाउने सहमति भएको छ । ‘‘राज्य पुनःसंरचनाको विषयलाई चाँडो टुङ्ग्याउने विषयमा एकसरो छलफल भएको हो, संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पु¥याएर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने र भैँचालोबाट पीडित भएका जनतालाई राहत तथा पुनःनिर्माणमा जुट्ने विषयमा दुई दलबीच समान धारणा बनेको छ ।’’ एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको भनाइ उद्धृत गर्दै उहाँका स्वकीय सचिव चूडामणि खड्काले भन्नुभयो । बैठकमा दुवै दलका शीर्ष नेताको सहभागिता थियो । यसैबीच एमालेका उपाध्यक्ष भीमबहादुर रावलले आफ्नो पार्टीले सकेसम्म कम प्रदेशको प्रस्ताव आज बस्ने चार राजनीतिक शक्तिको बैठकमा राख्ने बताउनुभयो । उहाँले एमालेले पाँच वा छ प्रदेशको विकल्पमा जान जोड दिने जानकारी दिनुभयो ।
सहमति जुटाउन स्थगित
आजका लागि तोकिएको संविधानसभाको बैठक दलहरूको आपसी छलफल जारी रहेको अवस्थालाई ध्यानमा राखी यही जेठ २५ गते सोमबारसम्मका लागि स्थगन भएको छ । बैठक बिहीबार अपराह्न ३ बजेका लागि डाकिएको थियो । संविधानसभा, व्यवस्थापिका–संसद् सचिवालयले सूचना टाँस गरी स्थगन भएको जनाएको हो । संविधानसभा नियमावली, २०७० को नियम ६ को उपनियम ३ बमोजिम बैठक स्थगन भएको सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । सूचना टाँस हुनुअघि कानुन, न्याय, संविधानसभा तथा संसदीयमामिलामन्त्री नरहरि आचार्यले सभाध्यक्ष सुवास नेम्वाङलाई टेलिफोन गरी मुख्य चार शक्तिका बीचमा संविधानका अन्तर्वस्तुमा छलफल भइरहेकाले बैठक केही दिन सार्न आग्रह गर्नुभएको सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले बताउनुभयो ।