भारतमा अदालतले मुम्बईमा घोडागाडीमा प्रतिबन्ध लगायो
भारतको एक अदालतले नगरमा घोडागाडी चलाउनु गैरकानुनी भएको निर्णय गरी यस्तो कार्य एक वर्षभित्र अन्त्य गर्न त्यस्ता गाडीका मालिकलाई आदेश दिएपछि मुम्बई नगरबाट निकै सजाइएका यस्ता गाडी हराउने भएका छन् । चाँदीको रङ लगाइएका भिक्टोरिया नाम भएका खुला घोडागाडी रानी भिक्टोरियाको शासनमा प्रयोगमा आउँथे । बेलायती उपनिवेशिक कालपछि पनि मुम्बईमा यस्ता गाडी नियमित रूपमा सञ्चालनमा आएका थिए र यो पर्यटकको आकर्षण बन्ने गरेको थियो । मुम्बई उच्च अदालतले जनावरको कल्याणका लागि स्थापना भएका समूहले दायर गरेको निवेदनलाई स्वीकार गरी उक्त निर्णय गरेको हो । यी समूहले यी घोडामाथि नराम्रो व्यवहार हुने गरेको र यस्तो कार्य उनीहरूमाथिको क्रूरता भएको दाबी गरेका थिए । अदालतले आफ्नो निर्णयमा आनन्दका लागि घोडाले तान्ने गाडीको प्रयोग पूर्णतया गैरकानुनी भएको उल्लेख गरेको छ । अदालतले नगर प्रशासनलाई यस्ता गाडीको प्रयोग निर्णय गरेको मितिदेखि एक वर्षमा पूर्णतया रोकिनु पर्ने आदेश दिएको छ । अदालतले यस्ता घोडाका लागि उपयोग हुने घोडाशाला बन्द गर्न र यस व्यापारमा रहेका ७०० व्यक्तिलाई सहयोग गर्न स्थानीय अधिकारीहरूलाई आदेश दिएको छ । यस्ता घोडागाडी कुनै समयमा मुम्बईका धनी परिवारका यातायातका साधन हुनेगर्थे भने हाल ऐतिहासिक कोबाला जिल्ला र म्यारिन ड्राइभ वरपर पर्यटक वसारपसार गर्छन् । उनीहरूलाई ताज महल प्यालेस होटेलको बाहिरी भाग र गेटवे अफ इन्डिया स्मारक वरपर पनि देख्न सकिन्छ । अनुमति नलिएका घोडाशालमा यी घोडामाथि क्रूर व्यवहार गर्ने अवस्था देखेर एनिमल एण्ड बर्ड्स च्यारिटेबल ट्रस्टले पेटा इन्डियाको सहयोगमा मुम्बईको उच्च अदालतमा मुद्दा दायर गरेको हो । पिपुल फर इथिकल ट्रिटमेन्ट अफ एनिमल (पेटाले) यी घोडालाई पर्याप्त पोषण, पर्याप्त आराम, र औषधोपचार नदिइएको र घोडाशालामा आफ्नै मलमाथि उभिन बाध्य बनाइएको उल्लेख गरेको छ ।