चितवनमा सरकारी छाप दस्तखत कीर्ते गर्ने गिरोह पक्राउ


licenceसरकारी छाप दस्तखत कीर्ते गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिई सार्वजनिक गरेको छ । नारायणगढको नमस्ते स्टेसनरी सेन्टरका सञ्चालक र कर्मचारी गरी सात जना र ए टु जेड प्रिन्टिङ तथा ग्राफिक सेन्टरका सञ्चालक र कर्मचारी गरी तीन जनालाई सरकारी छाप कीर्ते गर्न प्रयोग गरिएको सामग्रीसहित नियन्त्रणमा लिइएको हो । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पक्राउपर्नेमा नमस्ते स्टेसनरी सेन्टरका सञ्चालक भरतपुर उपमहानगरपालिका वडा नं १३ का ३० वर्षीय दीलिप श्रेष्ठ, कर्मचारी सोही उपमहानगरपालिकाका २४ वर्षीय विनोद श्रेष्ठ, २२ वर्षीया प्रतिमा श्रेष्ठ, १९ वर्षीया सिजन जोशी, १७ वर्षीय लेविन जोशी, १९ वर्षीय सफल चुके र २१ वर्षीय अफजल मिया रहेका छन् । त्यसैगरी, अन्य पक्राउपर्नेमा ए टु जेड प्रिन्टिङ तथा ग्राफिक सेन्टरका सञ्चालक भरतपुर—११ का २७ वर्षीय धर्मपाल विक, कर्मचारी सोही स्थानका १७ वर्षीय हेमन्त श्रेष्ठ र गोरखा फिनामका २५ वर्षीय शिव थापा रहेका छन् । निजहरूले नारायणगढ सहिदचोकमा रहेको नमस्ते स्टेसनरी र ए टु जेड प्रिन्टिङ तथा ग्राफिक सेन्टरमा नक्कली लाइसेन्स, नागरिकता, विद्यार्थी परिचयपत्र, गाविस सिफारिस, भ्याटसम्बन्धी कागजात, नोटरी पब्लिकसम्बन्धी, सङ्घसंस्थाको नक्कली परिचयपत्र बनाउनेजस्ता गैरकानुनी कार्य हुने गरेको भन्ने गोप्य सूचनाका आधारमा जिप्रकाका प्रहरी निरीक्षक रुगमबहादुर कुँवरको कमाण्डमा खटिएको टोलीले ती दुवै पसलमा खानतलासी गरी नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले बताउनुभयो । ती दुवै पसलबाट छाप, हस्ताक्षर, होलोग्रामलगायतका सामग्री पनि बरामद गरेको उहाँले बताउनुभयो । निजहरूलाई सरकारी छाप दस्तखत कीर्ते मुद्दामा अनुसन्धान गरिने प्रहरी उपरीक्षक थापाले बताउनुभयो । यस मुद्दामा एक वर्षसम्म कैद सजाय हुन्छ । निजहरूले वैदेशिक रोजगार प्रयोजनका लागि पनि कीर्ते काम गर्दै आएको बताइएको छ । साथै, यातायात व्यवस्था कार्यालयका कर्मचारीसँग मिलेमतो गरी नक्कली कागजातसमेत बनाउँदै आएको हुनसक्ने आशङ्का समेत प्रहरीले गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?