पुनः निर्माणमा सहयोग गर्न भारत तयार–भारतीय नेता यचुरी


????????????????????भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादी लेनिनवादीका महासचिव सीताराम यचुरीले नेपालको पुनः निर्माणमा भारत सरकार र आफ्नो पार्टी सहयोग गर्न सधैँ तयार रहेको बताउनुभएको छ । भूकम्पपीडितको सहयोगार्थ रकम हस्तान्तरण गर्न नेपाल आउनुभएका महासचिव यचुरीले आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर रु पाँच करोड २२ लाखको चेक हस्तान्तरण गरेको जानकारी दिनुभयो । उक्त सहयोग रकम भारतका कुनै पूँजीपति वा उद्योगपतिको नभएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “दुई दिनमा हाम्रा कार्यकर्ताले भारतीय जनतासँग सहयोग मागेर जुटाएको रकम हो ।” नेपाल दुःखी हुँदा भारत रमाउन नसक्ने भन्दै उहाँले नेपाल र भारतबीच ठूलो दाइ र भाइको सम्बन्ध नभई जुम्ल्याहा दाजुभाइको सम्बन्ध रहेको छ भन्नुभयो । “नेपालमा संविधान कस्तो बन्ने भन्ने निर्णय नेपालले नै गर्नुपर्छ, सल्लाह सबैको लिनुपर्छ तर निर्णय आफ्नो हुनुपर्छ”–उहाँले भन्नुभयो, “भारत स्वतन्त्र भएपछि राज्य पुनः संरचना हुन १० वर्ष लाग्यो । त्यसैले संविधानको ढाँचा कस्तो बनाउने नेपाली राजनीतिक दलहरूको सहमतिमा नै हुनुपर्छ ।” भर्खरै दलहरूबीच भएको सोह्रबुँदे सहमतिको स्वागत गर्दै महासचिव यचुरीले एक महिनाभित्र दलहरूले संविधानको ढाँचा तयार पारिसक्नेमा विश्वास व्यक्त गर्नुभयो ।
आठ हजार ७८१ को मृत्यु
गत वैशाख १२ र २९ गते आएको विनाशकारी भूकम्पमा परी साँझसम्म आठ हजार ७८१ जनाको ज्यान गुमेको छ भने २२ हजार ३०३ जना घाइते भएका छन् । भूकम्पबाट ज्यान गुमाउनेमा उपत्यकामा एक हजार ७३२, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा छ हजार ५२८, पश्चिम क्षेत्रमा ४६१ र मध्य पश्चिम क्षेत्रमा दुई जना रहेको प्रहरीले जनाएको छ । त्यस्तै घाइते हुनेमा उपत्यकामा १३ हजार १०२, पूर्व क्षेत्रमा ४५२, मध्य क्षेत्रमा सात हजार ४७०, पश्चिम क्षेत्रमा एक हजार २४१, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूरपश्चिम क्षेत्रमा दुई छन् । घाइतेमध्ये चार हजार ४०२ जना विभिन्न अस्पतालमा उपचाररत छन् । त्रिवि शिक्षण अस्पतालमा रहेको १५ शवको सनाखत हुन सकेको छैन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?