संविधान बनाउने बाटोमा हिँड्दा राष्ट्रसंघीय महासचिव मुनको प्रशंसा
संयुक्त राष्ट्रसङ्घका महासचिव बानकी मुनले संविधान बनाउन नेपालका राजनीतिक दलले गत सोमबार गरेको सहमतिको स्वागत गर्दैै त्यसलाई नेपालको प्रजातान्त्रिक विकासका निम्ति एउटा महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । महासचिव बानले गए राति अबेर एक वक्तव्य जारी गरी सहमतिमा पुग्न राजनीतिक दलका नेताले प्रदर्शन गरेको परिश्रमपूर्ण प्रयास तथा रचनात्मक नेतृत्वको सराहना गर्नुभएको छ । “गत महिनाका ठूला भूकम्पले सिर्जना गरेको चुनौतीपूर्ण परिस्थितिमा भएको यो उपलब्धि विशेषरुपमा प्रशंसनीय छ,” महासचिवका तर्फबाट उहाँका प्रवक्ताले जारी गरेको वक्तव्यमा भनिएको छ । सहमति कार्यान्वयनका लागि निर्णायक कदम चाल्न राजनीतिक नेतृत्वलाई अभिप्रेरित गर्दै महासचिवले नेपालीको बृहत् हितका खातिर सबै पक्षसँग परामर्श गरेर संविधान लेखनका बाँकी विषय टुङ्ग्याउन अनुरोध गर्नुभएको छ । महासचिव बानले नेपालको शान्ति प्रक्रिया र पुनःनिर्माणमा राष्ट्रसङ्घको प्रतिबद्धता दोहो¥याउँदै त्यसमा राष्ट्रसङ्घले निरन्तर सघाउने स्पष्ट गर्नुभएको छ ।
सहमतिको स्वागत
अन्तर्राष्ट्रिय समुदायले संविधानका अन्तर्वस्तुमा राजनीतिक दलहरूबीच भएको सहमतिको स्वागत गरेको छ । यहाँस्थित अन्तर्राष्ट्रिय समुदायका तर्फबाट नेपालका लागि संयुक्त राष्ट्रसङ्घका मानवीय समन्वयकर्ता जिमी म्याक गोल्डरिकले आज एक वक्तव्य जारी गरी नयाँ संविधानमा सहमति जुटाउन नेपाली राजनीतिक नेतृत्वले देखाएको एकताको भावनाको स्वागत गर्नुभएको छ । “गत महिनाका ठूला भूकम्पले सिर्जना गरेको कठिन समयमा भएको यो उपलब्धि विशेषरुपमा उल्लेखनीय छ,” वक्तव्यमा भनिएको छ । शान्तिप्रक्रिया पूरा गर्ने तथा नेपालको भावी विकासलाई मार्ग निर्देश गर्ने आधारभूत दस्ताबेज बनाउन भएको सहमतिलाई सार्थक कदम भन्दै अन्तर्राष्ट्रिय समुदायले पारस्परिक मेलमिलापको भावना र नेपाली जनताको आकांक्षाअनुसार संविधान लेखनमा लाग्न नेतृत्व पङ्तिलाई प्रेरित गरेको छ । अन्तर्राष्ट्रिय समुदायले त्यस निम्ति नेतागणलाई आफ्ना प्रयास दोब्बर पार्न अनुरोध गर्दै नेपालको शान्ति प्रक्रिया र पुनः निर्माणमा सहयोगको प्रतिबद्धता व्यक्त गरेको छ ।
अर्थमन्त्री भारतमा
अर्थमन्त्री डा रामशरण महत भारतको तीनदिने भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । भारतका वित्तमन्त्री अरूण जेट्लीको निमन्त्रणामा उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा घोषणा भएको सहयोग रकमको उपयोग तथा कार्यान्वयनका सम्बन्धमा दुई पक्षबीच छलफल हुने अर्थ मन्त्रालयले जनाएको छ । सो अवसरमा नेपालीको बैंक खाता सञ्चालन, भारु ५०० तथा १००० का नोटसम्बन्धी विषय, भारतमा नेपाली उत्पादनले व्यहोर्दै आएको समीकारक महसुल (काउन्टरभेलिङ ड्युटी), नेपालमा भारतको लगानी तथा दुई पक्षीय व्यापार विस्तारका बारेमा छलफल हुनेछ । अर्थमन्त्री तथा नेपाली प्रतिनिधिमण्डलका नेता डा महतले भोलि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटी भूकम्पपछिको नेपाल सहायता सम्मेलनका लागि प्रधानमन्त्री सुशील कोइरालाको तर्फबाट निमन्त्रणा हस्तान्तरण गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रीका प्रेस सल्लाहकार गजेन्द्र विष्टले जानकारी दिनुभयो । सहायता सम्मेलन आगामी असार १० गते काठमाडौँमा आयोजना हुने तय भइसकेको छ । अर्थमन्त्री डा महत उक्त सहायता सम्मेलनको संयोजक पनि हुनुहुन्छ । अर्थमन्त्री डा महतको नेतृत्वमा भारत भ्रमणमा रहेको प्रतिनिधिमण्डलमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारी र अर्थ मन्त्रालयका उपसचिव युगराज पाण्डे सहभागी हुनुहुन्छ । उहाँ शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।