सम्वाद समितिको बैठक आज बस्दै
संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिको बैठक आज विहान १० बजे बस्ने भएको छ । यसअघि हिजो साँझको बैठकमा संविधान लेखनलाई सजिलो तुल्याउन सहमतिको प्रस्ताव निर्माण गर्न गठन भएको उपसमितिले दिनभर गरेको कामको प्रगति विवरण सुनाएको थियो । उपसमितिले आफूलाई दिएको जिम्मेवारीलाई पूरा गर्न थप केही समयको माग गरेपछि समितिको बैठक स्थगन भएको हो । समितिको बैठकले पूर्णबहादुर खड्काको अध्यक्षतामा ६ सदस्यीय उपसमिति गठन गरेको थियो । दलबीच भएको १६ बुँदे सहमतिको मूलभावनालाई समेटेर संविधान लेखनलाई तीव्र तुल्याउन सहमतिको प्रस्ताव निर्माण गर्ने जिम्मेवारी दिइएको थियो । समितिको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सभापति डा बाबुराम भटटराईले धेरै नै विषयवस्तु भएकाले उपसमितिले केही विषयवस्तु टुङग्याउन बाँकी रहेको प्रतिवेदन दिएको हुँदा बैठक स्थगित गरिएको जानकारी दिनुभयो । राजनीतिक संवाद समितिले दिएको एक र संविधान निक्र्याैल समितिले दिएको सात वटा प्रतिवेदनको उपसमितिले अध्ययन गरेर सहमतिको प्रस्ताव निर्माण गर्ने छ । उपसमितिले अधिकांश विषयमा सहमतिका आधारमा प्रस्ताव तयार गरेपनि नागरिकतालगायत केही विषयमा दलका शीर्ष नेताको धारणा माग गरेको बुझिएको छ । निक्र्याैल समितिले दिएको सातवटा प्रतिवेदनमध्ये चारवटा प्रतिवेदनमा आंशिक रूपमा मात्र दलबीचमा सहमति भएको थियो भने बाँकी रहेको तीन वटा प्रतिवेदनमा पूर्णरूपमा सहमति खोज्नु पर्ने काम बाँकी नै छ । संवाद समितिको भोलि बस्ने बैठकले चार दलबीच भएको सहमतिका आधारमा सहमतिको प्रतिवेदन संविधानसभामा पठाउने छ ।