विश्व योग दिवस अष्ट्रेलियावासी नेपाली समूदायले पनि मनाए
२१ जून अर्थात् संयुक्त राष्ट्रसंघले तोकेको पहिलो विश्व योग दिवस । विश्वका १ सय ७३ मुलुकमा योग दिवस मनाइएको छ । १ सय ७३ देशले स्वस्थ रहनका लागि योग गरौं भन्ने नाराका साथ यो दिवस मनाए । यसैबीच, अष्ट्रेलियाका विभिन्न शहरमा पनि योग दिवस मनाइएको छ । सिड्नीमा पनि विविध कार्यक्रम भएका छन् । यसैक्रममा सिड्नीको क्यान्टोरबरीस्थित सिनियर सिटिजन हलमा प्रार्थना र योग शिविर सञ्चालन गरिएको छ । योग शिविरमा नेपाल, भारत, फिजी, न्यूजिल्याण्ड लगायतका देशका सर्वसाधारण सहभागी भएका थिए । योगाभ्यास आचार्य राजन सापकोटाले गराउनुभएको थियो । कार्यक्रममा बोल्दै एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष चुरामणि बेल्बासेले ध्यान र योगबाट जीवनलाई आनन्दमयी बनाउन सकिने बताउनुभयो । ध्यान शिवरमा क्यान्टोरबरी काउन्सिलकी काउन्सिलर लिन्डा ईसरले आपूm पनि योगको विद्यार्थी भएको र विश्व योग दिवसको सन्दर्भमा विभिन्न समूदायका व्यक्तित्वहरुलाई एकै ठाउँमा पाउँदा खुशी लागेको बताउनुभएको थियो । साथै, नेपाली अभिभावकहरुले विहान योग साधना गरेर स्वस्थ बन्ने अभियानमा सहयोग गर्न तत्पर रहेको पनि उहाँको भनाई थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले योगको महत्वको बारेमा उजागर गर्नुभएको थियो भने निःशुल्क आयोजना गरिएको कार्यक्रमबाट करिब ४० जनाले लाभ लिएका थिए ।