अदालती आदेशले संविधान लेखनमा कुनै असर नगर्ने प्रचण्डको भनाई
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले यही असार ११ गते संसद् बैठक आह्वान गरिएको अवस्थामा संसद्बाट पारित नगरी हतारिएर अध्यादेशबाट पुनःनिर्माण प्राधिकरण बनाउनु गलत भएको बताउनुभएको छ । सूर्यविनायक नगरपालिका–३ कटुन्जे कोलडाँडामा बसोबास गर्दै आएका कलाकार घनश्याम गौतम र उहाँकी श्रीमती युगज्योतिलाई भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संसद् बैठक बस्नु चार दिन अगाडि अध्यादेशबाट प्राधिकरण गठन गर्न खोजेर सत्ता पक्षले संसद्लाई छल्न खोजेको आरोप लगाउनुभयो । उहाँले प्राधिकरण स्वायत्त अधिकारसहितको हुनुपर्नेमा मन्त्रिमण्डल जस्तो भएको टिप्पणी गर्दै भन्नुभयो– “प्राधिकरण बनाउने सैद्धान्तिक असहमति हाम्रो होइन, संसद्बाटै विशेष समिति बनाएर जानुपर्छ भनेका हौँ तर अध्यादेशबाट ल्याउन खोजियो, त्यो प्रक्रियामा मात्र असहमति हो ।” यसले चार दलबीच भएको १६ बुँदे सहमतिलाई कुनै असर नगर्ने अध्यक्ष दाहालको भनाइ थियो । सर्वोच्च अदालतले गरेको निर्णयले संविधान निर्माणमा कुनै असर नपर्ने बताउँदै पूर्वप्रधानमन्त्री दाहालले अदालतलाई पेलेर जाने चार दलको मनशाय नरहेको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो– “संविधानसभा सार्वभौमसभा भएकाले त्यसको कार्यविधि छलफलमा कहीँ कतै आवाज उठाउनु हुँदैन, अदालतले पनि कुनै विषय उठाउन पाउँदैन ।” विपक्षीलाई नबोलाई अदालतले हतारबाट आदेश दिएको टिप्पणी गर्दै उहाँले अदालतको आदेश सच्याउन अदालत नै जान सकिने बताउनुभयो । उहाँले भूकम्पमा परेर घाइते भएका कलाकारद्वय र अन्यलाई पनि उपचारमा समस्या आए आफ्नो पहलमा उपचार गरिदिने बताउनुभयो । गौतमदम्पती हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’का कलाकार हुन् जो भूकम्पबाट घाइते भएका छन् । कलाकारको सङ्गठनले ल्याएको खाद्यान्न, कम्बल, त्रिपाललगायत सामग्री नेता दाहालले गौतम परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।