असहमति कायम राखेर भए पनि संविधान लेखनलाई पूर्णता दिने एमाओवादी निर्णय


prachanda1एकीकृत नेकपा (माओवादी)ले संविधान निर्माणमा देखिएका विवादित विषयमा असहमति राखेर नै भए पनि संविधान लेखन प्रक्रियालाई पूर्णता प्रदान गर्ने निर्णय गरेको छ । एमाओवादीको बसेको ‘वैचारिक बहस व्यवस्थापन समिति’को बैठकले यही असार १३ गतेभित्रै संविधान लेखन प्रक्रियामा देखिएका सबै विवादित विषयलाई टुङ्गो लगाएर अन्तिम मस्यौदा गर्न र संविधानसभामा पेस गर्न आफ्नो तर्फबाट सक्दो प्रयत्न गर्ने निर्णय गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । संविधानसभाबाटै संविधान निर्माण गर्ने पार्टीको पूर्वघोषित योजना रहेको भन्दै एमाओवादीले प्रमुख चार दलबीच भएको १६ बुँदे सहमति र विगतमा भएका सहमति र सम्झौताका आधारमा अगाडि बढ्नुपर्नेमा जोड दिएको छ । प्रवक्ता शर्माले बैठकमा मस्यौदा समितिमा रहनुभएका सभासद्हरूले हालसम्म भएको प्रगतिका बारेमा जानकारी गराउनुभएको बताउनुभयो । मुलुकको पछिल्लो राजनीतिक अवस्था, पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनलगायतका विषयमा समेत बैठकमा छलफल भएको थियो । व्यवस्थापिका–संसद्को बैठक आह्वान भएको सन्दर्भमा सरकारले एकलौटी रुपमा विधि र प्रक्रियासमेत नपु¥याइकन पुनःनिर्माण प्राधिकरण गठन गरेको भन्दै आपत्ति प्रकट गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?