जमिम शाहको हत्यामा संलग्न पूर्वडिएसपी जगदीश चन्द समातिए
सञ्चारउद्यमी जमिम शाहको हत्यामा संलग्न रहेको आरोप लागेपछि फरार रहेका पूर्वडिएसपी जगदिश चन्द गएराति पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी अनुसन्धान मशाखाको टोलीले बानेश्वरबाट पक्राउ गरेको हो । विगत लामो समयदेखि फरार सूचिमा रहेका चन्दलाई प्रहरीले २०६६ सालदेखि खोजी गरेको थियो । प्रहरीले नै चन्द भारतका विभिन्न शहर र काठमाडौंमा लुक्दै आएको बताएपनि उनी पक्राउ पर्न नसक्नुका पछाडि प्रहरीको उच्च नेतृत्वसँग उनको साँठगाँठ नै मानिएको थियो । काठमाडौं प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल नियुक्त भएलगत्तै यो सफलता प्राप्त भएको हो । आज पत्रकार सम्मेलन आयोजना गरी प्रहरीले चन्दलाई सार्वजनिक गर्ने तयारी गरेको छ । जमिम शाहलाई भारतबाट आएका दुईजनाले लाजिम्पाटमा गोली हानी हत्या गरेका थिए । ति युवाहरुलाई नेपालमा आउने, यहाँ बारदात गरिसकेपछि भाग्नका निम्ति योजना बनाई सघाएको आरोपमा हत्याको मतियार रहेको चन्दमाथि आरोप छ । चन्द प्रहरीबाट राजीनामा दिएपछि नर्भिक अस्पतालमा सुरक्षा संयोजकको रुपमा कार्यरत रहेका थिए । घटनालगत्तै पक्राउ पर्ने भयका कारण उनले बिदा स्वीकृत गराई फरार भएका थिए । विभिन्न अपराधीहरुलाई प्रहरीका उच्च निकायसँग भेट गराउने कार्यमा समेत उनी संलगन रहने गरेका थिए ।