समय अभावले जमिम शाहको हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका पूर्वप्रहरी डिएसपीको बयान भएन


chandसञ्चार उद्यमी जमिम साह हत्या संलग्न रही पक्राउ परेका नेपाल प्रहरीका पूर्व नायब उपरीक्षक जगदीश चन्दलाई प्रहरीले जिल्ला अदालत काठमाडौँमा प्रस्तुत गरेपनि समय अभावका कारण उनको बयान हुन सकेन । बैतडी जिल्ला दशरथचन्द नगरपालिकाका स्थायी बासिन्दा ४६ वर्षीय चन्दलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गए राति नयाँबानेश्वरबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । महाशाखाले चन्दलाई महानगरीय प्रहरी परिसर काठमाडौँको जिम्मा लगाएपछि परिसरले आज अदालतमा प्रस्तुत गरेको थियो । परिसरका प्रवक्ता विश्वराज पोखरेलका अनुसार चन्द यसअघि नै ज्यान मार्ने मुद्दा र कर्तव्य ज्यान मद्दामा अदालतबाट फरार अभियुक्तको रुपमा रहेकाले अदालतको जिम्मा लगाउने तयारी गरिएको थियो । अदालतमा बयान हुन नसकेपछि चन्दलाई परिसरमै फिर्ता ल्याइएको छ । उनलाई पुनः बयानका लागि लगिने प्रवक्ता पोखरेलले जानकारी दिनुभयो । २०६६ माघ २४ गते दिउँसो स्पेश टाइमका सञ्चालक जमिम साह होटल याक एण्ड यतीको हेल्थ क्लबबाट पानी पोखरीस्थित घर फर्कदै गरेको अवस्थामा लाजिम्पाटस्थित फ्रेन्च राजदूतावास अगाडि मुख्य सडकमा पुग्दा मोटरसाइकलामा आएका दुई व्यक्तिमध्ये पछाडि बस्ने व्यक्तिले जमिम साह चढेको ना१च २१५१ नं को पजेरो मित्सुबिसीमा गोली प्रहार गरेका थिए । गोली प्रहारबाट घाइते भएका साहलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएकोमा उपचारको क्रममा सोही दिन मृत्यु भएको थियो । गोली प्रहारमा संलग्न व्यक्तिलाई सामान जुटाउने देखि, बस्ने, भगाउने सम्मको कार्यमा चन्दले भूमिका खेलेको प्रतिवेदन प्रहरीले तयार पारेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?