ओमारको निधन पुष्टिपछि तालिवान शान्तिर्वार्तामा नबस्ने
अफगानिस्तान सरकारले तालिवानसँगको शान्तिवार्ताका लागि तयारी जारी राखेको बताइरहेका बेला तालिवानले भने सरकारसँग वार्तामा नबस्ने सङ्केत गरेका छन् । हालैमात्र पनि वार्ता टोलीका सरकारतर्फका एकजना सदस्यले सरकारले वार्ताका लागि आन्तरिक तयारी जारी नै राखेको बताएका थिए । बिहीबार तालिवानले आधिकारिक रुपमा वार्ता नगर्ने भनेर नभनेपनि सरकारसँग वार्तामा नबस्ने सङ्केत गरेको हो । पछिल्लो समयमा तालिवानका नेता मुल्लाह ओमारको निधनको समाचारपछि तालिवानको यो प्रतिक्रया आएको हो । तर उनीहरुले ओमारको मृत्युका सम्बन्धमा भने कुनै पनि प्रतिक्रिया दिएका छैनन् । तलिवान सङ्गठनका नामबाट सार्वजनिक भएको एक विज्ञप्तिमा यो सङ्केत गरिएको छ । हालैका दिनमा अफगानिस्तानमा जारी रहेको शान्ति वार्ता र आगामी केही दिनमै गर्ने भनिएको अर्काे चरणको वार्ताका बारेमा आफुलाई केही थाहा नभएको उसले जनाएको छ । अफगानिस्तान सरकारले नै अफगानिस्तानको तालिवानका नेता ओमार पाकिस्तानमा मारिएको जानकारी बिहीबार दिएको छ । अफगान सरकारका तर्फबाट यो एक औपचारिक जानकारी हो । अफगान सरकारले नै यस बारेमा जानकारी दिएपछि तालिवानले यसप्रति विमती राखेको अनुमान गरिएको छ । यसअघि पनि ती नेता मारिएको जानकारी दिइएको भए पनि अफगान सरकारले नै औपचारिक रुपमा जानकारी गराएको भने थिएन । तालिवान नेता ओमार मारिएको जानकारी अफगान सरकारले बिहीबारमात्र दिएको हो । हालैमात्र अफगान राष्ट्रपति असरफ घानीले अफगानिस्तानमा रक्तपातको अन्त्यको पहल सुरु भइसकेको बताउनुभएको थियो । अफगान सरकारले वार्ताको तयारी जारी रहेको जनाएको थियो । यसअघि शान्ति वार्ताका लागि सशस्त्र तालिवान विद्रोही पनि तयार भएको जनाएका थिए । विश्लेषकहरुले त्यहाँ शान्ति स्थापनाको एक झिनो आशा पलाएको जनाएका थिए । अफगानिस्तानका तालिवान र सरकारबीचको वार्ताको संयोजन पाकिस्तान सरकारले गरेको हो । यसअघि दुई चरणमा वार्ता भइसकेको छ । अर्काे चरणको वार्ता यसैहप्ताको अन्त्यसम्ममा हुने बताइएको थियो । सञ्चारमाध्यमहरुले तालिवान र सरकारबीच चाँडै नै वार्ता हुने बताइरहेका छन् । ती सञ्चारमाध्यमहरुले आजै वा भोलि नै यस्तो वार्ता हुदैछ र यस्तो वार्ता पाकिस्तान वा चीनमा हुदैछ भनेर पनि लेखेका छन् तर हामीलाई भने यस बारेमा कुनै थाहै छैन– तालिवानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । अङ्ग्रेजी भाषामा लेखी बिहीबार सार्वजनिक गरिएको सो विज्ञप्तिमा तालिवानले यसअघि र अब हुने भनेको कुनैपनि प्रकारको वार्ताप्रति कुनै पनि चासो र जानकारी नै नरहेको भनेको छ । भूमिगत अधिकारी तालिवान नेता मुल्लाह मोहम्मद ओमार मारिएको जानकारी औपचारिक रुपमा अफगान सरकारले जनाएपछि यो शान्ति वार्ता पनि स्थगित हुने अनुमान गरिएको हो । ओमार तालिवानी समूहका सर्वोच्च नेता तथा धार्मिक नेता हुन् । उनले अफगानिस्तानको ११ औँ राज्य प्रमुखका रूपमा सन् १९९६ देखि सन् २००१ सम्म कार्यभार सम्हालेका थिए । तर, तालिवान समूहका प्रवक्ता जुबिहुल्लाह मुजाबिदले यसको कडा रूपले खण्डनगर्दै भने यो सूचना कुनै तथ्यमा आधारित नभएको भन्दै आफ्नो नेता ‘जीवित’ रहेको जनाएका थिए । यसअघि आएको उनको मृत्युसम्बन्धी समाचारमा मुजाबिदले सो प्रतिक्रिया दिएका थिए । तर बिहीबार अफगानिस्तानको सरकारले नै उनको निधनको समाचार दिएपछि भने यस विषयमा ताविलनको कुनै प्रतिक्रिया नै आएको छैन । तवर्षको सेप्टेम्बर महिनामा सत्तामा आएपछि अफगान राष्ट्रपति असरफ घानीले यो पहिलो पटक यी दुई पक्षबीच प्रत्यक्ष रूपमा वार्ताको आयोजना गर्नुभएको हो । तालिावन नेता अब्दुल्लाह मोहम्मद ओमारका नाममा प्रकाशित एक विज्ञप्तिमार्फत आफ्नो समूहले औपचारिक रुपमा वार्ताका लागि सरकारसँग बस्ने घोषणा गरेको तालिवानले जनाएको थियो । यसरी वार्ताका लागि दुवै पक्ष सहमत भएपछि इद उल फित्रको लगत्तैपछि शान्ति वार्ताका लागि बस्ने सहमति भएको थियो । तर अहिले आएर यसमा थप प्रगति हुने देखिएको छैन– काबुलबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । वार्ताका लागि सरकार र विद्रोहीले प्रतिनिधि नै खटाएका छन् । अफगानिस्तानका उपविदेशमन्त्री हिक्मद खलिल कारजायीले सरकारको तर्पmबाट चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ । अफगानिस्तानमा सन् २००१ देखि नै अमेरिकी सहयोगको सरकार सुरु भयो र तालिवान त्यसको विद्रोहीमा उत्रिएको हो । तालिवानका नेता ओमार भने सन् २००१ देखि नै सार्वजनिक भएका छैनन् । अफगानिस्तानमा तालिवान विद्रोहका लागि उनलाई प्रमुख योजनाकारका रुपमा लिइन्छ । त्यसैले उनैको निधनपछि यो शान्तिवार्ताको कार्यक्रम पनि स्थगित गर्ने तयारीमा तालिवानहरु लागेको हुनसक्ने अनुमान गरिएको छ ।