विविसीले एक हजार रोजगारी कटौती गर्ने


bbcबेलायती प्रसारण संस्था बीबीसीले बिहीबार प्रायः व्यवस्थापनमा रहने गरेको एक हजारभन्दा बढी नोकरी कटौती गर्ने जनाएको छ । दर्शकको बीबीसी हेर्ने बानीमा परिवर्तन भएको देखी खर्च कटौती गर्न यस प्रकारको कार्य गरिने भएको बताइएको छ । बढी दर्शकले अनलाइन कार्यक्रम हेर्न थालेपछि बेलायतमा टेलिभिजन भएका सबै घरपरिवारमा लगाइएको बीबीसीको अनुमति शुल्कमा निकै घटेको बीबीसीले जानकारी दिएको छ । सरकारले टेलिभिजन हेर्न प्रति वर्ष १४५.५० पाउन्ड शुल्क लगाउने गरेको छ । टेलिभिजन दर्शकको सङ्ख्यामा कटौती हुँदा चार वर्षअगाडि अनुमान गरेभन्दा हाल सन् २०१६÷१७ मा १५ करोड पाउन्ड आयमा कमी हुने अनमान गरिएको छ । यसको नतिजाको रूपमा बीबीसीले केही महाशाखालाई गाभ्ने प्रस्ताव राखेको छ भने केही क्षेत्रमा तीन तहको व्यवस्थापन हटाउने भएको छ । बजार, वित्त, मानव साधन तथा सूचना प्रविधिका सहयोग सेवा पनि सरल हुने बताइएको छ । बीबीसीले एक विज्ञप्ति प्रकाशन गरी पाँच करोड पाउन्ड जोगाउन एक हजारभन्दा बढी पद गुम्ने उल्लेख गरेको छ । सन् २०१४ मा बीबीसीले प्रकाशन गरेको प्रतिवेदनमा उसका कर्मचारी सङ्ख्या १६ हजार ६७२ रहेको उल्लेख गरेको छ । यो सङ्ख्या अघिल्लो वर्ष १६ हजार ५३४ रहेको थियो भने दुई वर्ष अगाडि १७ हजार २४२ रहेको थियो । बीबीसीमा अनुमतिपत्रबाट सन् २०१३÷१४ मा ३.७२ अर्ब पाउन्ड आय भएको र सोभन्दा अघिल्लो वर्षमा ३.७१ अर्ब पाउन्ड आय भएको थियो । जुलाई महिनामा बीबीसी न्युजले पुनःसंरचना योजना अनुसार आफ्नो समाचार विभागमा ४१५ नोकरी कटौती हुने जानकारी दिएको थियो । बीबीसीले सन् २०११ मा २००० नोकरी कटौती गर्ने घोषणा गरेको थियो । पछि भएको पुनरावलोकनमा यो सङ्ख्या ५८० मा झरेको थियो । यस संस्थाका महानिर्देशक टोनी हलले सजिलो, सिकिरहने बीबीसी सही काम भएको र यसले आफूहरूलाई वित्तीय चुनौती सामना गर्न सघाउने बताउनुभयो । उहाँले आफूहरूले बीबीसीको सञ्चालन लागत निकै घटाइसकेको बताउनुभयो । उहाँले आफ्ना सबै दर्शकलाई असाधारण कार्यक्रम प्रदर्शन गर्नु सबैभन्दा महत्वपूर्ण कुरा भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?