महिला बेचविखन र गुण्डागर्दीका नाइके चितवनमा पक्राउ
जिल्ला प्रहरी कार्यालय चितवनले गुण्डागर्दीमा संलग्न रहेको आरोपमा भरतपुर–९ बस्ने वर्ष २८ का ‘कान्छी’ भनिने यमबहादुर कार्कीलाई पक्राउ गरेको छ । यसअघि पनि पटकपटक मुद्दा खेपेर जेल बसी छुटेका कार्कीलाई गुण्डागर्दीमा संलग्न रहेको भदै पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीमाथि हाल लागुऔषधसम्बन्धी मुद्दासमेत रहेको प्रहरीले जनाएको छ । अघिल्लो वर्ष मुग्लिन बजारमा उनले प्रयोग गर्ने गरेको ग१च ४८६० नं को गाडी जाँच गर्दा गाडीमा लुकाई राखेको अवस्थामा ४०० ग्राम गाजा फेला परेको थियो । सो क्रममा गाडी चालकलाई पक्राउ गरिएपनि उनी फरार रहेको प्रहरीले जनाएको छ । २०६६ सालमा राजेश कुमाललाई खुकुरी हानी गम्भीर घाइते बनाइ ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई उनी २०६८ साल जेठ महिनामा छुटेका थिए । २०६८ सालमै कविलास गाविस–५ केरावारीमा सञ्जय लामालाई गोली हानी हत्या गरेको आरोपमा उनी पक्राउ परेका थिए । २०७० सालमै पनि कुटपिटको आरोपमा पक्राउ परी रु पाँच हजार धरौटीमा छुटेका थिए ।
मानव बेचबिखन संलग्न ‘मोटी’ पक्राउ
जिल्ला प्रहरी कार्यालय मोरङले मानव बेचबिखनमा संलग्न मोरङको पथरी स्थायी घर भइ ललितपुरको ठेचुमा डेरा गरी बस्ने ३२ वर्षीय ‘मोटी’ भनिने शान्ता लिम्बूलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । मोरङको बयरबन–८ बस्ने वर्ष २१ की दुर्गा जोगी, कञ्चनपुर त्रिभुवन बस्तीकी वर्ष २१ की कोपिला तामाङ, म्याग्दी सिंह गाविस–६ बस्ने ३८ वर्षीया मनमाया विक, उदयपुर राजाबास गाईघाट–१५ बस्ने २३ वर्षीया सुमिका दनुवार र सप्तरी ढिकली बथनाहा–७ बस्ने २५ वर्षीया मगलीदेवी रामलाई प्रहरीले उद्धार गरेको थियो । उनीहरुलाई वैदेशिक रोजगारमा पठाई दिने भन्दै भारत लैजान लागेको अवस्थामा इलाका प्रहरी कार्यालय रानी र केआइ नेपालको सहयोगमा गत जेठ १९ गते उद्धार गरिएको थियो । उद्धार गरिएका महिलाहरुले दिएको जाहेरी र वयानको आधारमा लिम्बूलाई पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख तारणीप्रसाद लम्सालले जानकारी दिनुभयो । लिम्बूलाई इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक गङ्गाप्रसाद पौडल नेतृत्वको टोलीले शनिबार विराटनगर–६ बाट पक्राउ गरेको थियो । आव २०७१÷७२ मा १४६ जना महिला तथा बालबालिकालाई सीमा क्षेत्रबाट उद्धार गरिएको मोरङ प्रहरीले जनाएको छ । जसमा १२ देखि १८ वर्ष सम्मका ४२ बालिका, १२ देखि १५ सम्मका १७ बालक र १८ देखि ३८ सम्मका ८८ जना महिला रहेका छन् ।