‘लिपुलेक’ सम्झौता सच्याउन माग गर्दै भारतीय दूतावासमा मोर्चाको ज्ञापनपत्र


indian embassyभारत र चीनबीच गत जेठ १ गते लिपुलेकका विषयमा भएको सम्झौता सच्याउन माग गर्दै नेकपा–माओवादी नेतृत्वको तेत्तीस दलीय राष्ट्रिय मोर्चाले आज भारतीय दूतावासमा ज्ञापनपत्र बुझाएको छ । माओवादीका उपाध्यक्ष सी पी गजुरेल र नेकपा(एकीकृत)का महासचिव परी थापासहितको टोली लैनचौरस्थित भारतीय दूतावास गई ज्ञापनपत्र बुझाएको हो ।ज्ञापनपत्र बुझ्दै भारतीय राजदूतावासका प्रथम सचिव गोपाल कृष्णनले ज्ञापनपत्रलाई अविलम्ब भारतीय प्रधानमन्त्रीकहाँ पठाइदिने प्रतिबद्धता व्यक्त गर्नुभएको मोर्चाका संयोजक मोहन वैद्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ४१ बुँदे सहमतिको २८औँ बुँदाबाट ‘लिपुलेक’ लाई हटाइयोस् भन्ने माग पूरा गर्न सहयोग गर्ने आशा लिएको ज्ञापनपत्रमा उल्लेख छ । भारतीय प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच जेठ १ गते भएको ४१ बुँदे सहमतिको २८ नम्बर बुँदामा उठाइएको लिपुलेकलाई ‘दुई देशको व्यापार वृद्धिका लागि नाकाको रुपमा प्रयोग गर्ने’ भन्ने सहमतिप्रति गम्भीर आपत्ति रहेको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा भनिएको छ, “नेपाली भूमिलाई भारत–चीन व्यापार विकासका लागि नाकाको रुपमा प्रयोग गर्ने भन्ने निर्णय हाम्रो राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथिको अतिक्रमण हो भन्ने हाम्रो ठम्याइ छ ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?