‘नाकाबन्दीको धम्की दिने आफैँ धरापमा पर्छन्’
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काठमाडौँलाई नाकाबन्दी गर्छु भन्नेहरू आफैँ त्यसको धरापमा पर्ने बताउनुभएको छ ।सर्लाहीको हरिवनमा नेकपा (एमाले) हरिवन नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री पण्डितले भन्नुभयो, “तराईका धर्तीपूत्र भन्नेहरूले काठमाडौँमा अकूत सम्पत्ति थुपारेका छन्, उनीहरूले गर्ने नाकाबन्दीबाट आफैँ पहिला धरापमा पर्नेछन् ।” अर्काको दानापानी खाएर अर्काको भाषा बोल्नेहरूले नेपालको कहिल्यै हित नसोचेको उल्लेख गर्दै मन्त्री पण्डितले अर्काको बलमा नाकाबन्दीको धाक देखाउनेहरू संविधान निर्माणपछि स्वतः समाप्त भएर जाने दाबी गर्नुभयो । मन्त्री पण्डितले व्यवस्थापिका–संसदबाट निजामती सेवा ऐन पारित भएकाले अब कुनैपनि सरकारी कर्मचारीले नेपाल र विदेशमा एकसाथ काम गर्न पाउँदैनन् र नेपालभित्रै पनि एनजिओ र आइएनजिओमा काम गर्न पाउँदैनन् भन्नुभयो ।