एउटै मञ्चमा भट्टराई र दाहालको जुहारी
एकीकृत नेकपा(माओवादीका)मा विवाद बढेको चर्चा चलिरहँदा आज यहाँ आयोजित कार्यक्रममा सार्वजनिक रुपमै सो पार्टीका नेताहरू एकापसमा आरोप प्रत्यारोपमा उत्रिएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले आयोजना गरेको ‘राजनीतिक प्रशिक्षण तथा राष्ट्रिय श्रम अभियानकर्मी सम्मान’ कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा बाबुराम भट्टराईले एकापसमा घोचपेच गर्नुभएको हो । अध्यक्ष दाहालले पार्टी बुर्जुवाकरणतर्फ अग्रसर भइरहेको भन्दै यसले निरन्तरता पाए पार्टी नै विघटन हुनसक्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, “पार्टीभित्र गुटैगुट बन्ने क्रम चलेको छ, नेतापिच्छे गुट छन्, एउटै जिल्लामा आठ वटासम्म समानान्तर कमिटी छन्, यो कम्युनिष्ट चरित्र होइन, बुर्जुवा चरित्र हो ।” उहाँले नेता भट्टराईतर्फ सङ्केत गर्दै अब समाजवादी क्रान्ति गर्नुपर्छ भन्ने, नयाँ पार्टी बनाउनुपर्छ भन्ने तर व्यवहारमा समानान्तर कमिटी गठन गर्ने भन्दै व्यङ्ग गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “हामीबीच कार्यदिशा र कार्यनीतिमा एकमत छ, सोह्रबुँदे पनि ठीक हो भन्ने, विचार सबै एउटै छ, अनि व्यवहारमा मात्रै किन फरक÷फरक गुट बनाउँदै हिँड्ने ?” उहाँले गल्तीको जिम्मा पनि सबै नेताले हैसियतअनुसार लिनुपर्ने बताउँदै दोस्रो, तेस्रो वरियताको नेताले आफ्नो हैसियतअनुसारको जिम्मा लिनुपर्ने भनाइ राख्नुभयो । आफ्नो नेतृत्वमा नै जनयुद्ध सञ्चालन गरी पार्टीलाई यहाँसम्म पु¥याएको स्मरण गर्दै अध्यक्ष दाहालले एउटा कथामा आमा बुढो भएपछि मिल्काउन खोजेजस्तै आफूलाई पनि मिल्काउन खोजेको हो भनी प्रश्न गर्नुभयो । कार्यक्रममा एमाओवादीका वरिष्ठ नेता भट्टराईले पार्टी यही स्थितिमा रहे पार्टीको विघटन निश्चित भएको बताउँदै नयाँ परिस्थितिअनुरुपको पार्टी निर्माण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “प्रचण्ड र बाबुराम मिलेर अँगालो हालेर मात्रै अब पार्टी बच्न सक्दैन, यथास्थितिमा हाम्रो विनाश रोक्न सकिँदैन ।” उहाँले पार्टी रुपान्तरण हुने गरी रणनीति र कार्यनीति ल्याउन आवश्यक रहेको बताउँदै त्यसबाट मात्रै समाजवादतर्फको दिशामा अगाडि बढ्न सकिने धारणा राख्नुभयो । भट्टराईले अध्यक्ष दाहालतर्फ सङ्केत गर्दै भन्नुभयो, “महादेवले सतिदेवीको मरेको लाश बोकर हिँडेजस्तै हिँडेर अब पार्टी अगाडि बढ्न सक्दैन ।” संविधान निर्माणसँगै पुँजीवादी क्रान्तिको कार्यभारलाई संस्थागत गरी मुलुक समाजवादको दिशातर्फ अगाडि बढेको उहाँको भनाइ थियो ।
सीमाङ्कनसहितको सङ्घीयताको लागि दबाब आवश्यक
कार्यक्रममा अध्यक्ष दाहालले सीमाङ्कनसहितको सङ्घीयताकोे लागि दबाबमूलक अभियान सञ्चालन गर्न विद्यार्थीलाई आह्वान गर्नुभयो । उहाँले सीमाङ्कनसहितको सङ्घीयता सम्भव भएको बताउँदै जनस्तरबाट दबाब दिए संवाद समितिको बैठकसम्म आइपुग्दा त्यो विषय टुङ्गिने विश्वास आफूले लिएको बताउनुभयो । आज मात्रै नेकपा(एमाले)का शीर्ष नेतासँगको आफ्नो छलफलमा सीमाङ्कन र नागरिकताको विषय टुङ्ग्याउनुपर्ने बारेमा छलफल भएको उहाँले जानकारी दिनुभयो । उहाँले आफ्नो पार्टीले जोखिम मोलेरै अहिले संविधान निर्माणको आधार तयार पारेको बताउँदै यो संविधानलाई माओवादी छाप भएको संविधानको रुपमा लिनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको संविधानसभाबाट पनि संविधान ल्याउन नदिइ दलहरूलाई बदनाम गर्ने र नाती राजा, हिन्दू राज्य बनाउने सम्मका छलफल अगाडि बढेपछि हामीले जोखिम उठाएर सोह्रबुँदे सहमति गरेका हौँ ।” नेता भट्टराईले संविधान जारी हुनुअघि नै सीमाङ्कनसहितको संविधान ल्याउन दबाब सिर्जना आवश्यक रहेकामा जोड दिनुभयो । नेता नारायणकाजी श्रेष्ठले प्रमुख दलहरूबीच भएको सोह्रबुँदे सहमतिभन्दा पछि हटेर संविधानको मस्यौदा आएको भन्दै त्यो सच्याउनुपर्ने बताउनुभयो । कार्यक्रममा भूकम्पपछि अखिल (क्रान्तिकारी)ले सुरु गरेको राष्ट्रिय श्रम अभियानमा सहभागी विद्यार्थीलाई सम्मान गरिएको थियो ।