‘राष्ट्रियताको सवालमा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ’
नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियताको सवालमा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । युवा सङ्घ नेपालले राजधानीमा आयोजना गरेको ‘लिपुलेक सम्झौता र हाम्रो राष्ट्रियता’ विषयको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले सन् १८१६ मा भएको सुगौली सन्धिले उल्लेख गरेको सिमाना नै नेपालको आधिकारिक सिमाना भएको बताउनुभयो । लिपुलेक नाका नेपालमा रहेकाले चीन र भारतबीच भएको सम्झौतामा नेपाललाई समेत समेट्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “सिमानाका बारेमा नेपालले एक इन्च जमिन कुनै देशसँग माग्दा पनि माग्दैन एक इन्च कसैलाई छोड्दा पनि छोड्दैँन ।” लिपुलेकका बारेमा सीमाविद्ले अध्ययन गरेर आफ्नो प्रतिवेदन बुझाएपछि यसलाई सरकारले आवश्यक पहल गर्नुपर्ने उहाँले बताउनुभयो । नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले लिपुलेकका सम्बन्धमा त्यतिखेर नेपालले सम्झौता भएकाले आधिकारिक नक्सा झिकेर अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै राजनीतिक दल एक ठाउँमा भएको बेला लिपुलेकको कुरा उठेकाले यसलाई कूटनीतिक पहल गर्न ढिला गर्न नहुने उल्लेख गर्नुुभयो । नेता बडूले लिपुलेकका सम्बन्धमा भारत र चीनसँग छलफल र वार्ता गरेर नेपाल अनुकूल अगाडि बढ्नुपर्ने बताउनुभयो । चीनका लागि नेपालका पूर्वराजदूत डा राजेश्वर आचार्यले कूटनीतिक क्षमताबाट देशले आफ्नो मान मर्यादा राख्न सक्ने भन्दै कूटनीतिक पहलबाटै समस्याको समाधान हुने विश्वास व्यक्त गर्नुभयो । चीनका लागि नेपालका अर्को पूर्वराजदूत टङ्क कार्कीले आफ्नो लाभका लागि तेस्रो पक्षलाई अहित गर्ने काम गर्न नहुने बताउनुभयो । वरिष्ठ पत्रकार भैरव रिसालले लिपुलेक नेपालको भएकाले नेपालको मातहतमा व्यापार केन्द्र स्थापना गर्नुपर्ने भन्दै लिपुलेकको बाटो भएर भारत र चीन जाने सवारीसाधनलाई सवारी कर उठाउनुपर्ने बताउनुभयो । नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठले लिपुलेक भञ्याङ आर्थिक, सामाजिक, पर्यटकीय महत्व बोकेको स्थान र भारत र चीनको छोटो व्यापारिक नाका भएकाले यसमा आँखा लागेको हो भन्नुभयो । उहाँले लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको भएकाले भारत र चीनले नेपालसँग सहकार्य गरेर अगाडि बढ्न सुझाव दिनुभयो । युवा सङ्घ नेपालका उपाध्यक्ष दिलकुमारी पन्तले देशको सीमा विवादको सम्बन्धमा सबै युवा एकजुट हुन आग्रह गर्नुभयो ।