सङ्घीयता बिनाको संविधानको कल्पना गर्न सकिँदैन–प्रधानमन्त्री
प्रधानमन्त्री सुशील कोइरालाले सङ्घीयता बिनाको संविधानको कल्पना गर्न समेत नसकिने भन्दै संविधानमा सबैलाई समेटेर अगाडि बढने प्रयास भइरहेको बताउनु भएको छ । जनकपुरको राम चोकमा नवनिर्मित राम टावरको उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले सीमाङ्कनका बारेमा उठिरहेको विषयमा पनि व्यापक छलफल भइरहेको उल्लेख गर्नुभयो । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशीता एउटा ठूलो परिवर्तनको उपलब्धि भएको चर्चा गर्दै उहाँले सबैले मिलेर यो परिवर्तनको रक्षा गर्नु आजको आवश्यकता हो भन्नुभयो । प्रधानमन्त्री कोइरालाले आउँदो संविधानमा कसैको हकअधिकार, वेषभूषा र सांस्कृतिक पहिचान नखोसिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले संविधानको विरोध गर्ने मधेसवादी मोर्चाका नेताहरूसँग पनि छलफल भइरहेको बताउनुभयो । प्रधानमन्त्री कोइरालाले दश वर्षभित्र यो मुलुकको कायापलट गर्ने बताउँदै छिमेकी मुलुकलाई दोष दिनुभन्दा हामी एक भएर अगाडि बढ्नुपर्छ भन्नुभयो । उहाँले भारत सरकारले नेपाललाई हुलाकी सडक बनाउन सहयोग गरेकाले यो काम चाँडै सुरु हुने बताउनुभयो । उहाँले तराईको सामाजिक आर्थिक विकासमा सरकारले विशेष कार्यक्रम ल्याउने उल्लेख गर्नुभयो । युवाहरू विदेश पलायन भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री कोइरालाले नेपालमा रोजगारीको पर्याप्त सम्भावना रहेको र युवाले विदेशमा पसिना बगाउनुको साटो नेपालमा बगाउँदा झनै उपलब्धिमूलक हुने धारणा राख्नु भयो । राम युवा कमिटीका अध्यक्ष रामबाबु साहको अध्यक्षतामा भएको सो उद्घाटन समारोहमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्द पोखरेलले जनकपुरलाई धार्मिक र पर्यटकीयस्थलको रुपमा विकास गर्न आयोग कटिबद्ध रहेको बताउनुभयो । सो टावर रु ५३ लाखको लागतमा निर्माण भएको अध्यक्ष साहले जानकारी दिनुभयो । यसैगरी प्रधानमन्त्री कोइरालाले जनकपुरको प्रसिद्ध जानकी मन्दिर र राम मन्दिरमा पूजापाठसमेत गर्नुभएको थियो ।