महिलाललाई पनि चित्त बुझेन मस्यौदा, नागरिकतामा ‘आमा वा बाबु’ नै हुनुपर्ने
महिला नेत्री तथा अधिकारकर्मीहरूले संविधानसभामा प्रस्तुत भएको नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदा प्रस्तावनामा महिलाका प्रमुख मुद्दा छुटाइएको भन्दै संशोधन गर्नुपर्नेमा जोड दिएका छन् । नेकपा (एमाले) निकट युवा सङ्घ नेपालद्वारा आयोजित ‘नयाँ संविधानमा लैङ्गिक समानता’ विषयक अन्तत्र्रिmयामा (एमाले) का उपाध्यक्ष विद्यादेवी भण्डारीले महिलासँग जोडिएको नागरिकता र निर्वाचन क्षेत्रलगायत विषयमा मस्यौदा अनुदार देखिएको भन्दै संशोधन गर्नुपर्ने बताउनुभयो । राज्यका हरेक संरचनामा जनसङ्ख्याको आधारमा महिलाको सहभागितालाई संविधानमै उल्लेख गर्नुपर्ने उहाँको भनाइ छ । एमालेका पोलिटब्युरो सदस्य बिन्दा पाण्डेले मुलुकका विभिन्न स्थानमा बलात्कारका घटना दिनप्रति दिन बढ्दै गएको अवस्थामा बलात्कारीलाई कडा सजायको व्यवस्था गर्ने सवाल संविधानमै उल्लेख गर्नुपर्नेमा जोड दिनुभयो । नागरिकताको सवालमा अन्तरिम संविधान, २०६३ ले व्यवस्था गरेको ‘आमा वा बाबु’ को प्रावधानलाई समेत मस्यौदामा कटौती गरिएको भन्दै उहाँले त्यसलाई परिमार्जन गरी ‘आमा वा बाबु’ नै राखिनुपर्छ भन्नुभयो । महिलाका लागि छुट्टै निर्वाचन क्षेत्र हुनुपर्ने माग महिलाहरूले गर्दै आएका थिए । तर प्रस्तावित मस्यौदामा भने निर्वाचनमा महिला प्रतिस्पर्धा हुने भनिए पनि प्रतिनिधित्वको सुनिश्चितता गरिएको छैन । एमाले केन्द्रीय सदस्य सुनीता शाक्यले राज्यका हरेक संरचनामा महिलाको सहभागिताका लागि पार्टीका हरेक संरचनाको नेतृत्व तहमा नै महिलाको सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य विमला पौडेल राईले मस्यौदामा महिला, बालबालिका, ज्येष्ठ नागरिक र अन्य उत्पीडित समुदायको बारेमा स्पष्ट नभएको भन्दै संशोधन गरिनुपर्ने माग गर्नुभयो । वरिष्ठ अधिवक्ता शान्तिदेवी खनाल र समाजसेवी डा गीता खरेलले संविधानमा आफ्ना अधिकार सुनिश्चित गर्न सबै महिला नेत्री र अधिकारकर्मीबीच एकता हुनुपर्नेमा जोड दिनुभयो । अन्तरिम संविधानले उम्मेदवारीको सन्दर्भमा राज्यका निर्वाचित निकायमा महिला सहभागिता बढाउन ३३ प्रतिशत प्रतिनिधित्व गर्ने व्यवस्था गरेको थियो ।