पहिले संविधान अनि नामांकन र सिमांकन हुनुपर्ने एमाले अध्यक्षको भनाई


kp oliनेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संविधान जारी गरेपछि मात्र सङ्घीयताको नामाङ्कन र सीमाङ्कन गर्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) राजधानी उपत्यका समन्वय कमिटीले आयोजना गरेको कार्यक्रममा उहाँले संविधान जारी हुन नदिनका लागि अहिले त्यसमा विवाद उत्पन्न गरिएको बताउँदै विज्ञको सहभागितामा गठन हुने आयोगले सङ्घीयताको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास तथा अनुभव र मुलुकको आवश्यकताका अधारमा गर्ने सिफारिसलाई अनुमोदन गर्नुपर्ने बताउनुभयो । नेत्री अष्टलक्ष्मी शाक्यले अब मुलुकमा छिट्टो संविधान जारी गर्नुको विकल्प नरहेको विचार व्यक्त गर्दै संविधान भनेको समय सापेक्ष र जनताको चाहनाअनुसार परिवर्तन हुँदै जाने बताउनुभयो । पार्टीका केन्द्रीय सदस्य राजन भट्टराईले संविधान भनेको सबै राजनीतिक शक्ति तथा पार्टीबीच सहमतिको दस्तावेज भएकले सबैका धेरै कुरा, भावना र विषय यसमा समावेश गरिएको बताउँदै यसले लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात् गरेको बताउनुभयो । सभासद्, विनोद श्रेष्ठ र रामेश्वर फुयाँल तथा कमिटीका अध्यक्ष सानु श्रेष्ठले प्रारम्भिक मस्यौदामा केही त्रुटि भएको भए पनि यसले गणतन्त्र, सामाजिक न्यायलगायतलाई आत्मसात् गरेको छ भन्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?