११ बालिकालाई बलात्कार गरी हत्या गर्ने यो अपराधी
बाँच्नुमात्र पर्छ के के देख्न पाइन्छ भन्ने चलन छ अहिले । हो, यस्तै एउटा घटनाले भारतको दिल्ली प्रहरीलाई मात्र होइन सुन्ने पढ्ने सबैलाई चकित बनाएको छ । घटना हो एक युवक जो २४ वर्षका छन् र उनले गरेको अपराधको । यिनले ११ जनाको हत्या गरेका छन् । हत्याअघि ११ जनाभन्दा बढीलाई बलात्कार गरेका छन् । र, त्योभन्दा पनि आश्चर्यजनक कुरा त उनले बलात्कार र हत्या गरेका सबै ६ वर्षभन्दा कम उमेरका छन् । दिल्लीको बाहिरी एरियामा बसोबास गर्ने यस अपराधीको नाम हो रविन्दर । उत्तर प्रदेशको बासिन्दा ऊ दिल्लीमा आएको थियो करिब ६ वर्ष पहिले । उसले प्रतिवाद नहुने र अपराधपछि मार्न पनि सजिलो हुने भन्दै यस्ता बालिकाहरुमाथि बलात्कार गर्दथ्यो । तर, अपराध लुक्दैन भनेझैं गत जुन ४ तारिखमा एक बालिका बेपत्ता भएको खबरसँगै उनको खोजीमा लागेका प्रहरीले जब घटनास्थल नजिकै एक व्यक्तिको लाईसेन्स भेटे तब उनीहरुले त्यसको खोजी गरे । तर, लाईसेन्स अपराधीको भाईको थियो । अस्पतालमा बिरामी भएर बसिरहेको भाईले नै यो सबै घटनाको बारेमा जानकारी दियो र प्रहरीले रविन्दरलाई गिरफ्तार गर्ने सफलता पायो । सोधपुछको क्रम अझै जारी रहेकाले अझै उसले कति जनाको हत्या गरेको थियो भन्ने एकिन भएको छैन । तर, १५ जनालाई बलात्कार र त्यसमध्ये ११ जनालाई मारेको भने अहिलेसम्म पुष्टि भइसकेको अवस्था छ ।