एनआरएन अष्ट्रेलियाको पद हस्तान्तरण अगामी अगष्ट १ तारिखमा
गैरआवासीय नेपाली संघको छैठौं राष्ट्रिय सम्मेलन आगामी अगष्ट १ तारिखका दिन सिड्नीमा हुने भएको छ । यही अवसरमा नवनिर्वाचित कार्यसमितिलाई सपथग्रहण गराइनुका साथै पुरानो कार्यसमितिले आफ्नो कार्यभार हस्तान्तरण गर्नेछ । यसपछि औपचारिक रुपमा नवनिर्वाचित कार्यसमितिले कार्य थाल्नेछ । यतिबेला एनआरएन अष्ट्रेलियाको नेतृत्व आफ्नो कार्यकालमा भएका कार्यहरुको विवरण बनाउन र त्यसलाई राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने तयारीमा जुटिरहेको छ । दुई सत्रमा सञ्चालन हुने राष्ट्रिय सम्मेलनमा बन्द सत्र र स्वागत तथा मनोरञ्जनात्मक हुनेछ । पहिलो सत्रमा राज्यस्तरीय रिपोर्ट र प्रस्तुतिहरु हुनेछन् । जसमा आर्थिक प्रतिवेदन, प्रगति विवरण लगायत पेश हुनेछ । यसका साथै विधानसम्बन्धी छलफल पनि हुनेछ । यही बन्दसत्रमा एनआरएनको नवनिर्वाचित टिमलाई सपथ गराउने तयारी भएको एनआरएन अध्यक्ष महेन्द्र ओलीले जानकारी दिनुभयो । यसपछि साँझ ६ बजेपछिको कार्यक्रममा भने समूदायका अन्य सदस्यहरु समेत सहभागी हुन सक्नेछन् । यसमा मनोरञ्जनात्मक प्रस्तुतिका साथ औपचारिक कार्यक्रम हुनेछ । जसमा अतिथिको रुपमा एनआरएन अध्यक्ष शेष घले, अष्ट्रेलियाका लागि नेपाली राजदूत रुद्र नेपाल, अवैतनिक महावाणिज्यदूतहरु र केही अष्ट्रेलियन एमपी र मन्त्रीहरुलाई समेत बोलाइएको छ । समग्रमा आफ्नो कार्यकालका उपलब्धीहरुका विषयमा जानकारी दिँदै अध्यक्षबाट बिदा लिन लाग्नुभएका ओलीले भन्नुभयो, यो सम्मेलनमा नयाँ टिमको परिचय गराउनेछौं । यही कार्यक्रममा प्रत्येक दुई वर्षमा दिइँदै आएको विभिन्न विधाको सामूदायिक एवार्ड कार्यक्रम पनि गरिनेछ । जसको लागि प्राप्त मनोनयनहरुमाथि निर्णायक समूहले काम गरिरहेको छ ।