अष्ट्रेलियाबाट नेपालका भूकम्प पीडितलाई सहयोग जुट्ने क्रम जारी
नेपालमा यतिबेला भूकम्प पीडितहरुलाई अस्थायी बसोबासको व्यवस्था गरिएको छ । र, उनीहरुलाई स्थायी रुपमै घर बनाउने, भत्किएका संरचनाहरुको पुननिर्माण गर्ने चरणमा यो मनसुनपछि जाने योजना बनिरहेको छ । यसैक्रममा अष्ट्रेलियाबाट लगातार सहयोगको क्रम पनि जारी छ । आपूmले काम गर्ने ठाउँमा सहकार्य गर्दै उनीहरुले नेपालका आफ्ना दाजुभाईको घाउमा मल्हम लगाइरहेका छन् । गत सोमबार सिड्नीस्थित न्यूटाउनमा रहेको एक क्याफेमा काम गर्ने ५ नेपाली युवाहरुले पनि एक महिनासम्मको टिप्स वापत प्राप्त भएको रकम र त्यसमा शतप्रतिशत क्याफे सञ्चालकले थपिदिएको रकम जोडेर ४ हजार डलर नेपालमा सहयोग गरेका छन् । यो सहयोग रकम एनआरएन संरक्षक ईन्द्रा वनलाई उनीहरुले हस्तान्तरण गरे । न्यूटाउनको किंग स्ट्रीटमा रहेको पाष्टिजी क्याफेका सञ्चालक लेन्नी रोस र डेब्बी रोशले एमएनटीभीसँग कुरा गर्दै भने, “हामी परिवारजस्तो भएर यहाँ काम गर्दछौं । उनीहरुलाई परेको दुःखमा सहयोग गर्नु हाम्रो कर्तव्य हो भनेर यो काम गरेका हौं । हामीलाई चर्चामा आउनु पनि छैन, मात्र हामी चाहन्छौं यो रकम सही व्यक्तिको हातसम्म पुगोस् ।” सहयोग गर्ने नेपाली युवाहरुमा स्यांग्जाका भविश्वर पौडेल, पर्वतका केशव गौतम, रुपन्देहीका महेश्वर शर्मा, पोखराका सुरज बस्याल र काठमाडौंका साजन रायमाझी छन् । उक्त अवसरमा संरक्षक बनले सानो सानो सहयोग जुटेर नै अहिले करिब ११ लाख डलर भूकम्प पीडितको लागि अष्ट्रेलियाबाट मात्रै संकलन भइसकेको जानकारी दिनुभयो । उहाँले एनआरएन स्वयंसेवी संस्था भएको र यसको प्रशासनिक लागत पनि शून्य रहेका कारण एनआरएनमार्फत सहयोग गर्दा वास्तविक पीडितहरुसम्म धेरैभन्दा धेरै रकम पुग्ने कुरामा विश्वस्त रहन आग्रह पनि गर्नुभयो । अहिलेसम्म ८ लाखभन्दा बढी रकम एनआरएन अष्ट्रेलियाले एनआरएन आईसीसीको भूकम्प पीडित राहत कोषमा जम्मा गरिसकेको छ । पहिलो चरणमा उद्धार र तत्कालीन राहत, स्वास्थ्यशिविरको काम गरेको एनआरएनले दोश्रो चरणमा पुननिर्माणमा सरकारसँगको सहकार्यमा क्रियाशील बन्ने योजना बनाइरहेको छ । एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओलीले भन्नुभयो, “वास्तवमा अष्ट्रेलियामा जुन अभूतपूर्व सहयोगको भावना देखिएको छ यसले हामीलाई हौसला दिएको छ साथै विश्वमै रहेका नेपालीमध्ये अष्ट्रेलिावासी हामीले गरेको सहयोग सबैभन्दा बढी हो भनेर जुन प्रतिक्रिया आएको छ यसले नेपालमा भूकम्पबाट आफ्नो घरबार गुमाएका धेरैभन्दा धेरैको सहयोग गर्नसक्नेमा म आशावादी छु ।” रकम हस्तान्तरण कार्यक्रममा क्याफेका सञ्चालकले दिएको प्रतिक्रिया यस्तो छ