फेरि पनि संविधान नबन्ने खतरा रहेको अध्यक्ष ओलीको भनाई


Oli Delivers Remarks

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानको प्रारम्भिक मस्यौदामा जनताले दिएका उपयुक्त सुझावलाई समेटेर नयाँ संविधान जारी गरिने बताउनुभएको छ । एमाले कास्कीको प्रतिनिधि परिषदको प्रथम बैठकलाईसम्बोधन गर्दै नेता ओलीले जनताबाट आएका सुझावलाई संविधानमा समावेश गरिँदैन कि भन्ने भ्रममा नपर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले नयाँ संविधान कुनै दलविशेषका नेतालाई नभई देश र जनतालाई चाहिएको हो भन्नुभयो । संविधान जारी भएपछि संविधानसभा भने कायम नरहने जिकिर गर्दै उहाँले त्यसपछि काम संविधानमा उल्लेख भएबमोजिमका नियम र विधिअनुसार हुँदै जाने बताउनुभयो । उहाँले भन्नुभयो–“अहिले नै प्रदेशको नामाङ्कन र सीमाङ्कन टुङ्ग्याउनतिर लाग्ने हो भने फेरि पनि संविधान नबन्न सक्छ, त्यसैले यी विवादको टुङ्गो सङ्घीय आयोगले लगाउने छ र संविधानमा समावेश गरिन्छ । ” संविधान जारी भएपपछि नयाँ सरकार गठन हुने र सोको ध्यान भूकम्पबाट क्षतविक्षत भएको मुलुुकको पुनःनिर्माणमा केन्द्रित हुने अध्यक्ष ओलीको भनाइ थियो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले कसैको बुई चढेर असफल बनाउने प्रयास गरे पनि अब संविधान निर्माणको काममा कसैले अवरोध गर्न सक्दैन भन्नुभयो । उहाँले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन संसद्मा प्रस्ताव दर्ता गरिएको तथा स्वास्थ्य बिमा र जनसङ्ख्या ऐन ल्याइसकिएको जानकारी दिनुभयो । कार्यक्रममा पार्टी निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी, लेखा परीक्षण आयोगका अध्यक्ष पुष्प कँडेल र उपाध्यक्ष मनबहादुर गुरुङलेलगायतले धारणा राख्नुभएको थियो । सो अवसरमा विभिन्न दल परित्याग गरी एमाले प्रवेश गर्नेहरूलाई स्वागत गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?