अफिमसहित एक जोडी सुन्धारामा पक्राउ
महानगरीय अपराध महाशाखाले लागुऔषध अफिमको कारोबार गर्ने विशाल गुरुङ र मञ्जु तामाङलाई पक्राउ गरेको छ । दैलेख स्थायी घर भएका २० वर्षीय गुरुङ तथा २९ वर्षीय तामाङलाई सुनधराबाट सात केजी ३० ग्राम लागुऔषध अफिमसहित पक्राउ गरिएको हो । अपराध महाशाखाको विशेष प्रहरी समूहले उनीहरूलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ । महाशाखाले आजै कालीकोटका ३० वर्षीय बालकृष्ण सिंह र सुर्खेतका २८ वर्षीय बलबहादुर विकलाई सुनधराबाट करिब ३० ग्राम कस्तुरीको बिनासहित पक्राउ गरेको छ । उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।