अफगानिस्तान केन्द्र गरी आएको भूकम्पको प्रभाव पाकिस्तान र भारतमा पनि, सोलोमन द्वीपमा पनि भूकम्प
सोमबार दिउँसो अफगानिस्तान र ताजकिस्तानको सीमा क्षेत्रलाई केन्द्र विन्दु बनाई २०८ किलोमिटर गहिराईमा आएको ६.४ म्याग्निच्युडको भूकम्पको प्रभाव पाकिस्तान र भारतका केही भागमा समेत परेको छ । पाकिस्तानको राजधानी इस्लामाबाद र वरीपरीका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको यहाँको मौसम विज्ञान कार्यालयले जनाएको छ । भूकम्पको धक्का पाकिस्तानको पञ्जाब तथा खाइबर पाकथुनख्या प्रान्त तथा काश्मिर क्षेत्रमा समेत महसुस गरिएको जनाइएको छ । काश्मिरी क्षेत्रमा केही घरहरुमा भूकम्पका कारण क्षति पुगेको जनाइएको छ भने सोमबार दिउँसै अबेरसम्म भूकम्पबाट ठूलो क्षति भएको खबर आइसकेको छैन । पाकिस्तानी मौसम विभागका महानिर्देशक धुलाम रसुलले भूकम्प आएलगत्तै सञ्चारमाध्यमलाई ६.८ म्याग्निच्युडको धक्का महसुस गरिएको जनाएका थिए । तर पछि उनको अफिसको वेबसाइटमा यसलाई सच्चाई ६.४ म्याग्निच्युड भएको जनाएको थियो ।
भूकम्पको धक्का नयाँ दिल्लीमा पनि
सोमबार अफगानिस्तान तथा काजकिस्तानको सिमानामा केन्द्रविदु भई आएको भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्ली लगायत अन्य भारतीय भूभागमा समेत परेको नयाँ दिल्लीबाट सम्प्रेषित समाचारमा जनाइएको छ । भारतीय समय अनुसार दिउँसो ३ः३५ बजे आएको भूकम्पको धक्का काश्मिर तथा भारतको उत्तरी क्षेत्र हरियाना, हिमाञ्चल प्रदेश र पञ्जाबमा समेत महसुस गरिएको भारतीय मौसम विज्ञान विभागले जनाएको छ ।
सोलोमोन द्वीपमा भूकम्प
सोमबाार सोलोमोन द्वीपमा ६.९ रेक्टर स्केलको भूकम्प गएको समाचार छ । सो भूकम्पको सोलोमोन द्वीपको रुाजधानी होनीयारमा समेत महसुस गरिएको जनाइएको छ । सो भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको अधिकारीहरुले जनाएका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले पनि यस भूकम्पको सोमबार पुष्टि गरेको छ । यस भूकम्पको केन्द्रविन्दु राजधानी होनीयारबाट २१४ किलोमिटर पश्चिममा समूहको सतहमा रहेको पनि सो संस्थाले जानकारी दिएको छ । सोलोमोन राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयका निर्देशकले पनि यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको बताएको छ । गत महिनामा पनि सोलोमोन द्वीपमा ७ .रिक्टर स्केलको भूकम्प गएको तर सुनामी चेतावनी भने दिइएको छैन । सो भूकम्पबाट मानवीय सम्पत्ति क्षति पनि नभएको जनाइएको थियो । सन् २०१३ मा आएको ८ रिक्टर स्केलको भूकम्पपछिको सुनामीमा परी १० व्यक्तिको मृत्यु भएको थियो । यस भूकम्पको कारण हजारौं व्यक्ति घरबारबिहीन भएका थिए ।