सामाजिक सद्भाव कायम राख्न आग्रह
नागरिक समाजका अगुवाले संविधान जारी हुने समय नजिकिएको अहिलेको अवस्थामा जातीय, क्षेत्रीय, धार्मिकलगायत माग राख्दा सामाजिक सद्भाव र सहिष्णुता खल्बलिनसक्नेमा सचेत रहन आग्रह गरेका छन् । ‘सद्भाव र सहिष्णुता ः नागरिक समाजको कार्यदिशा’ विषयको अन्र्तक्रिया कार्यक्रममा उनीहरुले आन्दोलनरत पक्षलाई अधिकारको आन्दोलन अहिंसात्मक बनाउन आग्रह गरेका छन् । समाजका अगुवाले समाजमा सद्भाव कायम राख्न नागरिक समाज पुनः सक्रिय हुनुपर्नेमा जोड दिएका छन् । विगतमा नागरिक समाजले जनआन्दोलनमा खेलेको भूमिका जस्तैगरी अहिलेको विषम परिस्थितिमा भूमिका खेल्नुपर्ने अगुवाले बताएका छन् । त्यसका लागि दल र आन्दोलनरत विभिन्न पक्षलाई एक ठाउँमा ल्याएर संविधानसभाबाटै देशलाई निकास दिन नागरिक समाजले तत्काल भूमिका खेल्नुपर्ने जरुरी औँल्याएको छ । मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको छलफल कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोध प्याकु¥यालले संविधान जारी हुने मौका छोपेर देशमा विभिन्न खाले अतिवादले टाउको उठाएकाले सबै नागरिक समाजकर्मी दलगत स्वार्थभन्दा माथि उठेर त्यसविरुद्ध लड्नुपर्ने बताउनुभयो । मानवअधिकारवादी नेता कृष्ण पहाडीले नागरिक समाज एकजुट भएर सबै षडयन्त्र चिर्दै संविधान जारी गराउन दललाई दबाबसँगै सहयोग गर्नुपर्ने बताउनुभयो । चिकित्सक केदारनरसिंह केसीले अशान्ति र विग्रह आउन नदिन नागरिक समाजले शीर्ष नेतालाई भेटेर प्रक्रियाअनुरुप संविधान जारी गर्न दबाब दिनु जरुरी छ भन्नुभयो । कार्यक्रममा प्रा कृष्ण खनाल, मानवअधिकारवादी सुशील प्याकु¥याल, गौरी प्रधान, नेपाल पत्रकार महासङ्घका पूर्वसभापति विष्णु निष्ठुरी, प्रा रामेश्वर उपाध्यायलगायतले संविधान नआएसम्म नागरिक समाज दलगत स्वार्थ त्याग्दै एक ढिक्का भएर जुट्नुपर्नेमा जोड दिनुभएको थियो ।