संशोधनको प्रशस्त ठाउँ भएकाले नआत्तिन आग्रह–अध्यक्ष दाहाल
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले प्रमुख दलको सहमतिमा संविधानसभामा पेस भएको मस्यौदामा संशोधन गर्ने प्रशस्त ठाउँ भएकाले नआत्तिन आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घले संविधानको मस्यौदामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषयमा प्रष्ट नभएको र अझै पनि नियन्त्रण गर्ने प्रावधान कायम नै रहेको भन्दै बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै अध्यक्ष दाहालले जनताको सुझावको आधारमा अझै परिमार्जन गर्न सकिने बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “सङ्घीय राज्यको सीमा निर्धारणलगायत विषयमा समेत आवश्यक परिमार्जन गर्न सकिन्छ, संविधान संविधानसभाबाट पारित गर्न अझै धेरै चरण बाँकी रहेकाले आवश्यक सुझावलाई समावेश गरिन्छ ।’’ राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने समयमा जनताले आ– आफ्ना खालका प्रतिक्रिया जनाउनु, चासो चिन्ता राख्नु स्वभाविक भएको भन्दै उहाँले पार्टी नेतृत्वले त्यसलाई गम्भीर रुपमा लिएको बताउनुभयो । एउटा प्रणालीबाट अर्को प्रणालीमा जाँदा केही न केही प्रतिक्रिया आउनु, जनताले चासो र चिन्ता व्यक्त गर्नुलाई अन्यथा रुपमा नलिन आग्रह गर्दै उहाँले परिवर्तनलाई स्वीकार गर्न नसक्ने प्रवृत्तिले फैलाउन सक्ने गलत अफवाहलाई रोक्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने कुनै पनि व्यवस्था गर्न नहुनेमा आफू प्रतिबद्ध रहेको भन्दै उहाँले महासङ्घले गराएको ध्यानाकर्षणलाई सकारात्मक रुपमा लिँदै सच्याउन आवश्यक प्रयत्न गरिने बताउनुभयो । उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धमा देखिएमा कुनै पनि अस्पष्ट तथा विवादित प्रावधान हटाउन आफूले सक्दो पहल गर्ने र कुनै पनि विषयलाई आफ्नो संयन्त्रमार्फत पेस गर्न र संविधान लेखन प्रक्रियामा सकारात्मक सहयोग गर्न आग्रह गर्नुभयो । महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टको नेतृत्वको टोलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका सम्बन्धमा देखिएका अस्पष्टतालाई नयाँ संविधानमा हटाउन आग्रह गर्दै ध्यानाकर्षण गराएको थियो ।