आफ्ना थारु र मधेशी सभाषद्हरुसँग एमालेको अन्तरक्रिया, नेतृत्वको अलोचना
“खेत रोप्नु परेको छ, कसैले पानी पारिदेऊ भन्छन्, खेत रोप्नेका लागि त्यो माग जायजै हो । विस्कुन सुकाउनेले घाम लगाइदेऊ भन्छन् त्यो माग पनि जायजै हो, तर त्यसलाई कसरी मिलाउने भन्ने अहिलेको चुनौती हो ।” यो कुनै उपन्यासको अंश होइन । यो त नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले थारु र मधेसी सभासद्ले संविधानको मस्यौदालाई लिएर राख्नुभएको जिज्ञासाको जवाफ दिने क्रममा व्यक्त गर्नुभएको भनाइ हो । संविधानको मस्यौदा र सीमाङ्कनका विषयमा मुलुकभर विभिन्न कोण र पक्षबाट असन्तुष्टि व्यक्त भइरहेको बेला संविधानसभा भवन नयाँ बानेश्वरमा एमालेले थारु र मधेसी सभासद्हरुसँग आज छलफलको कार्यक्रम राखेको थियो । छलफलमा थारु र मधेसी सभासद्ले अल्पसङ्ख्यक जाति तथा समुदायलाई अधिकार नदिइएको, सीमा निर्धारणमा समेत ध्यान नदिएको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका थिए । उनीहरुले संविधानको मस्यौदामा धेरै विषय छुटेको र विगतका प्रतिबद्धता तथा भावनाको समेत ख्याल नगरिएको भन्दै आक्रोश व्यक्त गरेपछि अध्यक्ष ओलीले भन्नुभयो, “संविधानसभामा एमाले मात्रै छैन, तीस दलका ५९८ जना सभासद् छन् । उनीहरुलाई समेत सहमतिमा लिएर संविधान बनाउनुपर्छ भन्ने पाटोलाई तपाईहरुले बुझ्न जरुरी छ ।” मध्यपश्चिममा आगो बलेको छ, जनताले विरोध गरेका छन् भन्ने सभासद्हरुको भनाइको जवाफमा अध्यक्ष ओलीले भन्नुभयो, “हामीले आगो बाल्छौँ भन्नेहरुलाई एमाले शान्तिपूर्ण विचारको दमकल लिएर तयार हुनुपर्छ र झ्याप्प निभाउनुपर्छ । चर्काउँछु भन्नेहरुलाई ल्याप्प लेपन लगायर टाल्नुपर्छ । त्यो सामथ्र्य हामीसँग छ, जनताले हामीलाई पत्याएका छन् ।” एमाले सबै तह तप्काको जनताको साझा प्रतिनिधि भएको, सबैको हित र संरक्षणमा लागेकाले सोही दृष्किोणबाट प्राप्त सुझावलाई कार्यान्वयनमा लैजान अहम र सक्रिय भूमिकामा प्रस्तुत हुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “मस्यौदामा कहाँ कमीकमजोरी भएको छ, त्यसलाई एकपटक समग्रमा सच्याउन तयार छौँ, तर दिनैपिच्छे सच्याउन सकिदँैन ।” प्रमुख दलको सहमतिमा आएको छ प्रदेशको खाका मोटामोटी रुपमा सही भएको बताउँदै उहाँले संविधान भनेको सहमति र सम्झौताको दस्तावेज भएकाले तुलनात्मक रुपमा पूर्ण र सर्वसम्पन्न हुन नसक्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “आवेश र उत्तेजना होइन, देशलाई औँचित्यपूर्ण, तर्कपूर्ण, जनताको आवश्यकता, विकासको आवश्यकता, न्याय र समानता के हो त्यो आधारमा संविधानमा के के परिमार्जन र हेरफेर गर्नुपर्छ । त्यसका लागि छलफल र संवाद चलाइएको हो ।”