काँग्रेसले नै काटे काँग्रेसलाई, कास्कीका नेता बादलको हत्या
नेपाली काँग्रेस कास्कीका नेता रामजी पौडेल बादलको हत्या भएको छ । नेपाली काँग्रेसका पूर्व जिल्ला सदस्य, नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय सदस्य एवम् पूर्व महाधिवेशन प्रतिनिधिका रुपमा काम गरिसक्नुभएका बादल लेखनाथ नगरपालिकामा बस्दथे । हत्यासँगै उहाँ वसोवास गर्दै आउनुभएको लेखनाथ नगरपालिका–१३ गगनगौँडा पनि शोकमा डुबेको छ । पार्टीका जिल्ला सचिव कृष्ण केसीले उहाँ एक निष्ठावान र सामाजिक एवम् विकासप्रेमी नेता भएको बताउनुभयो । उहाँकी श्रीमती चन्द्रकला पौडेल गगन उच्च माविको प्राचार्य हुनुहुन्छ । ५० वर्षीय वादलका एक छोरी हुनुहुन्छ ।
मृतक पौडेलको शव अस्पताल ल्याइयो
पौडेलको शव अहिले परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ । हत्यारालाई पक्राउ नगरिएसम्म शव उठाउन नदिने भन्दै स्थानीय बासिन्दाले अड्डी लिएपछि प्रहरी र स्थानीयबीच केहीबेर झडप भएको थियो । झडपमा केही प्रहरी र स्थानीयवासी घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक हरिबहादुर पालले बताउनुभयो । प्रहरीले हत्यामा संलग्न चारमध्ये राजु रानाभाटलाई पक्राउ गरेको र अन्य तीनजनाको पनि खोजी गरिरहेको पालले जानकारी दिनुभयो । राजु नेपाली काँग्रेस लेखनाथ नगरपालिका–१६ का सभापति हुन् । हत्याराको पहिचान गरी तत्काल कारबाही गर्न माग गर्दै गगनगौँडाचोकस्थित पृथ्वी राजमार्ग स्थानीयवासीले अवरुद्ध गरेपछि यातायात आवागमनमा दिनभर अवरोध पुगेको थियो । बिहीबार बेलुका स्थानीय बुद्धिमान गुरुङको घरमा पार्टीकै विषयमा छलफल भएको र सो छलफलमा सामान्य विवाद भएपछि उनी आफ्नो घर फर्कने क्रममा बाटो कुरेर बसेका चारजना हतियारधारीले धारिलो प्रयोग गरी वादलको हत्या गरेका थिए । उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।