बानेश्वरमा राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच झडप


kamal thapaराप्रपा (नेपाल)ले जनताले दिएका सुझावलाई नयाँ संविधानमा समेट्न माग गर्दै आज आयोजना गरेको विरोध जुलुसमा प्रहरी हस्तक्षेप भएको छ । पार्टीले माइतीघरबाट निकालेको जुलुस नयाँ बानेश्वर चोकबाट अगाडि बढ्न खोज्दा प्रहरी हस्तक्षेप भई सयौँको सङ्ख्यामा विभिन्न नेता तथा कार्यकर्ता घाइते भएको पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीले अश्रुग्यास, लाठीचार्ज समेत गरेपछि घाइते भएका नेता तथा कार्यकर्ताको बानेश्वरको एभरेस्ट नर्सिङ होममा उपचार भइरहेको छ । श्रेष्ठसहित अधिकांशको हातखुट्टा भाँचिएको तथा केहीको टाउको र ढाडमा चोट लागेको बताइएको छ । पार्टीले शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गर्दा भएको प्रहरी हस्तक्षेपको छानबिन गरी घाइतेको उपचार गर्न पार्टीका नेता देवेन्द्र प्रधानले माग गर्नुभयो । सो पार्टीले सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र कायम गर्नुपर्ने, स्थानीय निकायको चाँडो निर्वाचन गर्नुपर्नेलगायतका माग गर्दै विभिन्न चरणका आन्दोलन तथा विरोधका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?