सिन्धुपाल्चोकको सोलिसिंग विद्यालयको सहयोगार्थ च्यारिटी डिनर
सिन्धुपाल्चोक जिल्ला भूकम्पको अति प्रभावित जिल्लामध्ये एक हो । यस जिल्लाको ईचोकमा रहेको सोलिसिंग विद्यालय भूकम्पमा परी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । यही विद्यालयको पुननिर्माणका लागि सहयोग जुटाउने उद्देश्यले सिड्नीमा एक च्यारिटी डिनरको आयोजना गरियो । शनिबार ग्रानभिलमा आयोजना गरिएको च्यारिटी डिनरमा दुई सय पचासभन्दा बढी नेपाली समूदायका सदस्यहरु सहभागी भए । युनाईटेड नेप्लीज आर्ट एण्ड ईन्टरटेन्मेन्ट र सिल्भर फक्स स्टुडियोको आयोजनामा भएको कार्यक्रममा नेपाली समूदायका अगुवाहरुको उपस्थिति रहेको थियो । नेपाली र अष्ट्रेलियन राष्ट्रियगानसँगै सुरु भएको कार्यक्रममा शब्दमालामा नोपली भाषा संस्कृतिको अध्ययन गरिरहेका बालबालिकाहरुले आकर्षक प्रस्तुति दिएका थिए । यस्तै अतिथिहरुको स्वागत आयोजकमध्येकी एक सुनिता लिम्बुले गर्नुभएको थियो । अष्ट्रेलियाबाट एनआरएन राहत तथा उद्धार टोलीमा स्वयंसेवकको रुपमा सहभागी हुनुभएकी बबिता श्रेष्ठले फोटोसहित सिन्धुपाल्चोक पुग्दाका अनुभावहरु सुनाउनुभएको थियो । डिनरबाट उठेको रकम बालबालिकाको शिक्षाका निम्ति खर्च हुने भएकोले सहयोगका लागि श्रेष्ठले आह्वान गर्नुभयो । एनआरएनको टिमसँगै पुगेका अन्य सदस्यहरुले पनि आफ्नो अनुभाव सुनाएका थिए । यस्तै सिन्धुपाल्चोक ईचोकका बासिन्दा मिंगमार तामांगले विद्यालय र यसको पुननिर्माणका निम्ति भइरहेका कार्यहरुको भिडियोसहित जानकारी दिनुभएको थियो । कार्यक्रममा नेपाली समूदायकी अगुवा ईन्द्रा वन र डा. नारायण प्रधानले देशलाई आवश्यक परेको बेला सहयोग गर्ने हाम्रो संस्कार हो भन्दै भूकम्प पीडितको सहयोगका लागि गैरआवासीय नेपालीले खेलेको भूमिका प्रसंसनीय रहेको बताउनुभयो । यस्तै शब्दमालाका अध्यक्ष विक्रम खरेल, युएनएईका भीमशमशेर गुरुंग लगायतले पनि बोल्नुभएको थियो । कार्यक्रममा आर्थिक सहयोग संकलनका लागि राफल, अक्सन लगायतका गतिविधि गरिएको थियो । यस्तै चर्चित पप गायक दिब्य सुब्बाले आफ्नो प्रस्तुति दिनुभएको कार्यक्रममा सिड्नीका अन्य कलाकारले पनि गीत, नृत्यले उपस्थितहरुको मनोरञ्जन गराएका थिए । धन्यवाद दिँदै युएनएईकी अध्यक्ष भोमा लिम्बुले विद्यालयको पुननिर्माणका लागि यस्तै च्यारिटी डिनर मेलबर्नमा पनि आयोजना गर्न लागिएको जानकारी दिनुभएको थियो ।