तियानजिन विस्फोटमा मृत्यु हुनेको संख्या ११२ पुग्यो, ९५ जना अझै वेपत्ता
चीनको तियानजिन सहरमा अवस्थित एक गोदाममा भएको विस्फोटका कारण मृत्यु हुनेको सङ्ख्या आइतबार सम्म ११२ पुगेको छ । घटनापश्चात ९५ जना हराएका र उनीहरूको अझै पत्ता लाग्न सकेको छैन । मृतकमध्ये विस्फोटपछि उद्धारका सिलसिलामा तैनाथ गरिएका ९५ जना अग्नी नियन्त्रक पनि गम्भीर घाइते भएको जनाइएको छ । घटनामा घाइते भएका ६९८ नागरिकलाई विभिन्न अस्पतालमा राखी उपचार भइरहेको छ । यस घटनामा परी शनिबारसम्म १०४ जनाको मृत्यु भएको जनाइएको थियो । तर शनिबार राति थप ८ जनाको शव निकालिएपछि मृतकको सङ्ख्या ११२ पुगेको हो । विस्फोटक रसायनलाई हटाउन दुई हजार तालिम प्राप्त उद्धारकर्मीलाई त्यहाँ तैनाथ गरेको छ । त्यस्तै २०० चिकित्साविज्ञ तथा ४,००० भन्दाबढी अनय स्वास्थ्यकर्मीलाई घटनाबाट प्रभावित नागरिकको उपचार सेवा घटनास्थलबाट केही टाढा राखेर उपलब्ध गराइराखेको छ ।