ग्रीसमा शरणार्थीको सङ्ख्यामा नाटकीयरूपमा वृद्धि : यूएनएचसीआर
संयुक्त राष्ट्रसङ्घ शरणार्थीसम्बन्धी उच्च आयोग (यूएनएचसीआर) को कार्यालयले ग्रीसमा आउने शरणार्थी सङ्ख्यामा वृद्धि भएकोमा मङ्गलबार चिन्ता व्यक्त गरेको छ । यूएनएचसीआरले नाटकीयरूपमा ग्रीसमा बढ्दै गएको शरणार्थी समस्यालाई समयमै समाधान गर्न सम्बद्ध राष्ट्रलाई अनुरोधसमेत गरेको छ । समुद्री बाटो हुँदै ग्रीस आइपुग्ने शरणार्थीको सङ्ख्या सन् २०१५ को जनवरी १४ देखि अगस्ट १४ सम्म १ लाख ५८ हजार ४५६ पुगेको यूएनएचसीआरको पछिल्लो तथ्याङ्क छ । यस्तै १ हजार ७ हजार १७ शरणार्थी एवम् आप्रवासीहरू जमिनको बाटो हुँदै ग्रीस प्रवेश गरेको पनि यूएनएचसीआरले जनाएको छ । गएको आठ महिनामा सबैभन्दा धेरै ५० हजार २४२ शरणार्थी ग्रीस प्रवेश गरेको तथा अन्य सात महिनामा करिब ४३ हजार ५०० विदेशी शरणार्थीको रूपमा ग्रीस प्रवेश गरेका थिए । यूएनएचसीआरका प्रवक्ता विलियम स्पिन्डलरले १ हजार ७१६ शरणार्थी जमिनबाट र १ लाख ५८ हजार ४५६ समुद्रको बाटो हुँदै ग्रीस प्रवेश गरेको जनाउँदै पछिल्लो केही हप्ता ग्रीस प्रवेश गर्ने सिरियाली, अफगानी तथा इराकी नागरिकको सङ्ख्यामा भारी वृद्धि भएको बताउनुभयो । यो वर्ष भूमध्यसागरीय बाटो हुँदै २ लाख ६४ हजार मानिस युरोप प्रवेश गरेका थिए । जसमा ग्रीस बाहेक १ लाख ४ हजार शरणार्थी इटाली आइपुगेको र १ हजार ९५३ जना स्पेन आएको र ९४ जना माल्टा पुगेको तथ्याङ्क यूएनएचसीआरले प्रस्तुत गरेको छ । केही महिना अघिदेखि संयुक्त राष्ट्रसङ्घ शरणार्थीसम्बन्धी आयोगले शरणार्थीसम्बन्धी समस्यालाई समयमै समाधान नगरेमा ग्रीसको खस्किँदो आर्थिक स्थितिलाई समेत निकै नराम्रो असर पर्नसक्ने पनि जनाएको छ । शरणार्थी मध्ये धेरै सिरियाली, अफगानी र इराकी नागरिक भएको पनि राष्ट्रसङ्घको भनाई छ ।