श्रीलंका स्थायित्वतर्फ अघि बढ्दै, प्रधानमन्त्रीकै दल लोकप्रिय


ranil wikramasingheश्रीलङ्काली प्रधानमन्त्री रनिल विक्रमासिंघे उहाँ श्रीलङ्काको प्रधानमन्त्री बनेको आठ महिनामा नै सफल प्रधानमन्त्रीका रुपमा स्थापित हुनुभएको चर्चा सुरु भएको छ । श्रीलङ्कामा सोमबार सम्पन्न आमनिर्वाचनमा पनि उहाँको दलले नै बहुमत हासिल गरेको छ । यसबाट उहाँ सत्तामा नै निरन्तर रहनुहुने छ । यो निर्वाचनको विजयसँगै उहाँले देशमा पश्चिमा तथा भारतबाट पनि आर्थिक एवम् राजनीतिक विश्वास आर्जन गर्न सक्नुभएको टिप्पणी गरिएको छ । श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आफ्नो एक असल सहयोगीका रुपमा तथा श्रीलङ्काली अल्पसङ्ख्यकको प्रतिनिधित्व गर्दै सत्तामा ल्याउनुभएको थियो । गएको जनवरीमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा तत्कालीन राष्ट्रपति महिन्दा राजपाक्छेको पराजयपछि सत्तामा आउनुभएका सिरिसेनाले उहाँलाई प्रधानमन्त्रीका रुपमा चयन गर्नुभएको हो । विक्रमासिंघेको राजनीतिक दल युनाइटेड नेशनल पार्टीले यो पछिल्लो आम निर्वाचनमा पनि विजय हासिल गरेको छ । श्रीलङ्काका प्रथम कार्यकारी राष्ट्रपति जुनियस जयबर्धनेका भतिज विक्रमासिंघे सधैँ नै एक पत्रकारको पहिचानमा काम गरी आउनुभएको हो । तर उहाँको लगभग परिवारबाटै सञ्चालित पत्रिकालाई सन् १९७३ मा सरकारले बन्द गराइदिएपछि उहाँ त्यसै समयदेखि राजनीतिमा सक्रिय हुनुभएको हो । उहाँ यो पछिल्लो निर्वाचनपछि थप शक्तिशाली हुने अनुमानसहितका समाचारहरु श्रीलङ्काली सञ्चारमाध्यमका बुधबारका संस्करणहरुमा छापिएका छन् । उहाँले यस विजयपछि दिनुभएको प्रतिक्रियामा भन्नुभयो– म सबैसँग यो प्रतिज्ञा गर्दछु कि आउने ६० दिनमा हाम्रो देश नयाँ हुनेछ र त्यसका लागि मेरो प्रयास जारी रहने छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?