मोर्चाको निर्णय, आन्दोलनमा सहिद हुनेलाई मधेश प्रदेशले ५० लाख दिने
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले थरुहट÷मधेस प्रदेशका लागि भइरहेको आन्दोलनमा घाइते भएकाको रेखदेख र उपचारको व्यवस्था गर्ने भएको छ । यस्तै यदि आन्दोलनका क्रममा कसैको मृत्यु भएमा आफ्नो प्रादेशिक सरकार बनेपछि मृतकको परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय पनि उसले गरेको छ । यसैगरी मृतकको परिवारलाई जागिर दिने पनि उसले निर्णय गरेको छ । मोर्चाको बसेको बैठकले आन्दोलनका क्रममा घाइते भएका आन्दोलनकारीको रेखदेख र उसको सम्पूर्ण उपचार खर्च बन्दोबस्त गर्ने उद्देश्यले मोर्चा आवद्ध दलहरुबाट नाम मागी एउटा केन्द्रीय उपचार समिति गठन गर्ने निर्णय गरेको हो । केन्द्रीय समितिको नाममा खाता खोली उपचार कोष खडा गर्ने र सहयोगको लागि आह्वान गर्ने निर्णय भएको मोर्चाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै, बैठकले धरान, विराटनगर, जनकपुर, वीरगञ्ज, काठमाडौँ, भैरहवा, नेपालगञ्ज, धनगढीमा मोर्चाआवद्ध घटकहरु सम्मिलित स्थानीय उपचार समिति बनाउने निर्णय पनि गरेको छ । मोर्चाले आन्दोलनलाई शसक्त र प्रभावकारी वनाउन एउटा केन्द्रीय आन्दोलन परिचालन र संयोजन समिति पनि बनाउने भएको छ । सङ्घीयताको आन्दोलनलाई अझ शसक्त बनाउन समान अवधारणा बोकेका पार्टी, सङ्गठन र संस्थाहरु त्था थारु, मुस्लिम, जनजाति, खसलगायतका सङ्गठनहरुसँग सहकार्य गर्न गठबन्धन बनाउने निर्णय पनि बैठकले गरेको मोर्चाले जनाएको छ