मेलबर्न, सिड्नी र ब्रिसबेनमा नेपाली पर्यटन प्रबद्र्धनात्मक कार्यक्रम
भूकम्प पछि पनि नेपाल सुरक्षित छ भन्ने सन्देश दिन अष्ट्रेलियाका विभिन्न शहरमा प्रबद्र्धनात्मक कार्यक्रम भइरहेको छ । पर्यटन बोर्ड, अष्ट्रेलियास्थित नेपाली दूतावास र महावाणिज्यदूतको कार्यालयहरुको संयोजनमा यी कार्यक्रम भएका हुन् । सुरुमा मेलबर्नमा, त्यसपछि सिड्नीमा र आज ब्रिसबेनमा यस किसिमको कार्यक्रम भइरहेको पर्यटन बोर्डले जनाएको छ । शुक्रबार सिड्नीमा भएको कार्यक्रममा पर्यटनसचिव सुरेशमान श्रेष्ठ प्रमुख अतिथि थिए । कार्यक्रममा बोल्दै अष्ट्रेलियाका लागि नेपाली राजदूत रुद्रकुमार नेपालले अष्ट्रेलियामा नेपाली समूदायलाई सम्मानका साथ हेरिने र विपतको बेला पनि धेरै सहयोग गरेकाले भूकम्प पछि नेपाल गएर थप सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रमपछि एमएनटीभीसँग कुरा गर्दै पर्यटन सचिव श्रेष्ठले नेपाल सुरक्षित छ भन्ने सन्देश दिन नै आपूmहरु अष्ट्रेलिया आएको र यहाँ सर्वसाधारण, ट्राभल एजेन्टसहितहरुसँग विभिन्न छलफल गरिरहेको बताउनुभयो । उहाँले नेपालमा सगरमाथा र लांगटांगक्षेत्रमा केही सामान्य क्षतिभएपनि अन्यत्र सबै पदयात्रामार्ग सुरक्षित रहेको जानकारी दिनुभयो । नेपालका सम्पदाहरु सुरक्षित रहेको र केही सम्पदाहरुको पुननिर्माण समेत भइसकेकोले पर्यटकहरुलाई नेपाल आउन कुनै असुरक्षा महसूस गर्न नपर्ने उहाँले बताउनुभयो ।
यस्तै पर्यटन बोर्डका अधिकारी दिपकराज जोशीले ट्राभल एजेन्टसहरुले नेपाल सुरक्षित छ भन्ने जानकारी पाइसकेका भन्दै यहाँका सर्वसाधारणलाई भने अलि कन्भिन्स गर्न गाह्रो भएको अनुभव सुनाउनुभयो । अष्ट्रेलियाका पर्यटकलाई भूकम्प पछि कुनै रोग फैलिने हो कि रु अथवा लुटपाट हुन्छ कि भन्ने डर पर्यटकहरुलाई रहेको आपूmले पाएको जोशीले जानकारी दिनुभयो । यस्तो आशंका विस्तारै मेटिँदै गएको पनि उहाँको भनाई छ । नेपाल सरकारले व्यवसायिक संस्थाहरुबाट नेपालको अवस्थाबारे मूल्यांकन गराएको र सबैले नै नेपाल सुरक्षित रहेको नै बताएको जोशीले जानकारी दिनुभयो । अष्ट्रेलियन सरकारले आफ्ना नागरिकता सावधानीपूर्वक यात्रा गर्न एड्भाइजरी जारी गरेको अवस्थामा कसरी तपाईंहरुलाई पर्यटकले पत्याउलान् भन्ने हाम्रो प्रश्नमा उहाँले भन्नुभयो, अहिलेसम्म धेरैजसो देशहरुले आफ्नो एड्भाइजरी फिर्ता लिइसकेका छन् र बाँकीले पनि अब यो झरीपछि आफ्नो एड्भाइजरी फिर्ता लिनेमा हामी आशावादी छौं । कार्यक्रममा पर्यटन मन्त्रालयका सहसचिव उमाकान्त पराजुलीले नेपालको प्राकृतिक र सम्पदा झल्कने भिडियो प्रदर्शन गर्दै उपस्थितहरुलाई नेपालसम्बन्धी विभिन्न तथ्यबारे जानकारी दिनुभएको थियो । यस्तै नेपालमा धेरैपटक भ्रमण गरिसकेका क्रिस वाकरले पनि रोचक ढंगले नेपालका सम्बन्धमा उपस्थित ट्राभल एजेन्ट्स र टुर अपरेटरहरुलाई जानकारी दिनुभएको थियो । वाकरले नेपाल भ्रमण गर्नु नेपाललाई सहयोग गर्नु नभई आफैंलाई सहयोग गर्नु भएका पनि बताउनुभयो । ठूला शहरमा तनावपूर्ण जीवन बिताइरहेका व्यक्तिहरु नेपाल पुग्दा स्वर्गनै पुगेको अनुभूति हुने उहाँको धारणा थियो । नेपालका पर्यटन व्यवसायी एवं बोर्ड सदस्य राजेन्द्र सापकोटाले निजी क्षेत्र सरकारसँग सहकार्य गरी अघि बढेको बताउनुभयो भने नेपाल भ्रमण गर्न सुरक्षित रहेकोले निर्धक्क रुपमा नेपाल आउने योजना बनाउन आग्रह गर्नुभयो । न्यू साउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्काले छोटो सूचनामा पनि महत्वका साथ सिड्नीमा रहेका ट्राभल एजेन्सी र टूर अपरेटरहरुले उपस्थित भएर सहयोग गरेकोमा धन्यवाद दिनुभयो । नेपाल भ्रमण गरेर तनावपूर्ण जीवनबाट केही समय भएपनि राहत प्राप्त गर्न उहाँले आह्वान गर्नुभयो । कार्यक्रम सिड्नीको ग्लेड्सभिलस्थित न्यूगोर्खा नेप्लीज रेष्टुरेन्टमा गरिएको थियो । सहभागी र अतिथिहरुसँग एमएनटीभीले गरेको कुराकानी यो लिंकमा हेर्न सक्नुहुनेछ ।