विशेष समिति बैठकमा सबै पक्षलाई सहमतिमा ल्याउनेबारे छलफल
संविधानसभा, संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले गठन गरेको शीर्ष नेता सम्मिलित विशेष समितिको बसेको बैठकमा सबै दललाई विश्वास र सहमतिमा लिएर संविधान जारी गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका नेताबीचको बैठकमा असन्तुष्ट दललाई कसरी सहमतिमा ल्याउने र संविधानको विधेयक परिमार्जन गरी सहमतिका साथ अघि बढाउने भन्ने बारेमा छलफल भएको एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष नाराणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सोही वियषमा छलफल गर्न असन्तुष्ट मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारसँग भोली बिहान बैठक बस्नेछ । संविधान जारी हुने समय नजिकिँदै गर्दा प्रादेशिक सीमाङ्कनलगायत विषयलाई लिएर विभिन्न राजनीतिक दल विरोधमा उत्रिएका छन् । बैठकमा प्रधानमन्त्री सुशील कोइराला, काँगे्रस उपसभापति रामचन्द्र पौडेल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेता माधवकुमार नेपाल, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठको उपस्थिति थियो ।
यसो भन्छन् वैद्य
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले संविधानसभाभित्र र बाहिर रहेका राजनीतिक दल र सरोकारवाला सम्बन्धित सबै पक्षसित अविलम्ब संवाद गरी नयाँ राजनीतिक निकास निकाल्नका लागि अपिल गर्नुभएको छ । अध्यक्ष वैद्यले जारी गर्नुभएको विज्ञप्तिमा आन्दोलनरत पक्षको सहभागितामा राजनीतिक सभाको आयोजना गर्नु आवश्यक भइसकेको जनाउनुभएको छ । विज्ञप्तिमा प्रस्तावलाई गम्भीरतापूर्वक लिइएन र जबर्जस्ती संविधान बनाइयो भने देश फेरि अर्को द्वन्द्वमा जानेमा सचेत हुन आग्रह गरिएको छ । आन्दोलनमा संलग्न सरोकारवाला राजनीतिक शक्तिलाई पाखा लगाएर र उत्पीडित वर्ग तथा समुदायका अधिकारमाथि कुठाराघात हुने गरी संविधान बनाउन नहुने उहाँको माग छ ।