चिनियाँ कम्युनिष्ट पार्टीका सहायक मन्त्री दोउ नेपालमा
चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग सहायक मन्त्री दोउ इन्योङ नेपाल भ्रमणका लागि यहाँ आइपुग्नुभएको छ । भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सहायक मन्त्री दोउ इन्योङले चीन र नेपाल निकटका सम्बन्ध भएका छिमेकी मुलुक भएको बताउँदै दुवै मुुलुकबीच ६० वर्षदेखि द्विपक्षीय सहयोग र सु–सम्बन्ध कायम रहेको बताउनुभयो । हालैको भूकम्पबाट पीडित नेपाली जनताप्रति सहानुभूति व्यक्त गर्दै उहाँले नेपालका सबै निकायले अन्तर्राष्ट्रिय समुदायसँगको प्रयत्नमा चुनौतीको सामना गर्ने र पुनःनिर्माण सम्भव हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भूकम्पपछिको पुनःनिर्माणका लागि चीनले मात्र कुल ४.७ विलियन चिनियाँ रुपैयाँ (आरएमबी) सहयोगको घोषणा गरेको जानकारी गराउँदै उक्त सहयोगले पनि नेपाली जनताप्रति चिनियाँ जनताको निकट सम्बन्धलाई प्रस्ट्याएको बताउनुभयो । सहायक मन्त्री दोउले चिनियाँ कम्युनिष्ट पार्टीको नेपालका राजनीतिक दलसँग निकट सम्बन्ध बढेको बताउँदै आफ्नो नेपाल भ्रमणका दौरानमा नेपालका प्रमुख दलका नेतासँग भेटघाट हुने जानकारी गराउनुभयो ।