एनआरएन सचिव पदमा केसीको उम्मेद्वारी, युवा संयोजकमा गिरी
एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष गणेश केसीले आगामी कार्यकालका लागि एनआरएन ग्लोबल सचिव पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । आइतबार सिड्नीको कोग्रामा आयोजना गरिएको पत्रकार सम्मेलनमा आफ्ना सहयोगी, समर्थक र शुभेच्छुककामाझ केसीले यस्तो दाबेदारी प्रस्तुत गरेका हुन् । कार्यक्रममा बोल्दै केसीले समाजसेवामा निरन्तर लागेर अघि बढ्दै जाँदा यस पटक एनआरएनको अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यका रुपमा काम गरेको र अब सचिवका रुपमा काम गर्न ईच्छुक भएको बताए । एनआरएन अष्ट्रेलियाको अध्यक्षका हैसियतले सुरु गरेका राम्रा कामहरुको धेरैबाट प्रशंसा भएको भन्दै केसीले अष्ट्रेलियाले सदैव एनआरएन आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकोले यस पटक पनि आपूmले त्यस्तै ऊर्जाका साथ सचिव पदमा रहेर अघि बढ्न चाहेको बताएका थिए । कार्यक्रममा एनआरएनका उपयुवासंयोजक कृष्ण गिरीले पनि आगामी कार्यकालका लागि युवा संयोजक पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए । नेपाली भिजन अष्ट्रेलियाका प्रकाशक समेत रहेका गिरीले यसअघि एक डलर कापी कलम अभियान ल्याएर चर्चा कमाएका थिए । उनले भने, “मैले गरेको कामलाई निष्कर्शमा लैजानुपर्छ भनेर दाबेदारी प्रस्तुत गरेको हुँ । तर, यदि अग्रजहरुले तँ यसपटक बस भन्नुहुन्छ भने पनि मलाई कुनै आपत्ति छैन ।” कार्यक्रमको प्रमुख अतिथिमा एनआरएन संरक्षक ईन्द्रा वन हुनुहुन्थ्यो भने विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेत सहभागी थिए । एनआरएनका आईसीसी सदस्य निरज श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा बोल्दै नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका निर्वाचन कमिटी संयोजक प्रेम सापकोटा, एनआरएनका प्रवक्ता मन केसी, एनआरएन ओसवानिया क्षेत्रीय उपसंयोजक भूमा लिम्बु, पत्रकार हेमन्त काफ्ले, नेप्लीज युथ एशोसिएसन नायाका अध्यक्ष कोमल पाठक, नेप्लीज डेमोक्रेटिक फोरम एनएडीएफका अध्यक्ष बालचन्द्र भट्टराई, एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, एनआरएन न्यू साउथवेल्सका संयोजक दिनेश पोखरेल, प्रवासी नेपाली मञ्चका पूर्वअध्यक्ष हरि लामिछाने, व्यवसायी धर्मराज अधिकारी लगायतले शुभकामना दिएका थिए । शुभकामना मन्तव्यका क्रममा बोल्दै प्रवासी नेपाली मञ्चका पूर्वअध्यक्ष हरि लामिछानेले वर्तमान अध्यक्ष शेष घलेले पनि चुनावमा उठ्ने अवस्था देखिएको र महासचिव, सचिव लगायत धेरै पदाधिकारीमा दावी गर्दा कतै यो घातक त हुने होइन भनेर प्रश्न पनि गरेका थिए । यसैगरी एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले अष्ट्रेलियाबाट प्रतिनिधित्व गर्दै उम्मेद्वारी दिने सबैलाई सहयोग र समर्थन गर्ने भन्दै केही समयभित्रै अष्ट्रेलियाबाट ग्लोबल कन्फ्रेन्समा भाग लिन जाने प्रतिनिधिहरुको नामावलीको अन्तिम टुंगो लगाइने बताए । कार्यक्रममा प्रमुख अतिथि रहेकी संरक्षक ईन्द्रा वनले एउटै पदमा दुईजना उम्मेद्वार नबनौं भन्दै अष्ट्रेलियाबाट जोसुकै उठेपनि उसलाई पूर्ण समर्थन र सहयोग रहने बताउनुभयो ।